बुटवलमा माओ र येनान प्रवचनको महत्वबारे चर्चा

प्रकाशित मिति:

पुष ११, बुटवल । नेपालमा ओली–प्रचण्ड–नेपाल समूहले कम्युनिस्टको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराइरहेको बेला माओत्सेतुङ दिवसको महत्व अझ बढेर गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । १२८ औं माओ दिवसको सन्दर्भमा बुटवलमा आयोजित एक कार्यक्रममा वक्ताहरुले माओको योगदानलाई चिनियाँ सन्दर्भमा मात्र सीमित गर्न खोज्नु माओको अवमूल्यन भएको समेत बताएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ जिल्ला समिति रुपन्देहीद्धारा आयोजित “माओ र येनान प्रवचनको महत्व” विषयक कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले वैज्ञानिक समाजवादी सत्ता र संस्कृति निर्माणका लागी राजनीतिक मोर्चा मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि मोर्चा निर्माण गर्नु आवश्यक भएको बताए । उनले दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध देशभक्त र क्रान्तिकारी संस्कृतिकर्मीहरू बीच एकीकृत र धु्रवीकरण भई क्रान्तिलाई अगाडी बढाउनु अहिलेको आवश्यकता भएको बताउदै निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई सबैले आत्मसात गर्नुपर्ने बताए । उनले दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध बन्दुकसितको सेना मात्र नभई कलमसहितको सांस्कृतिक सेना निर्माण आवश्यक भएको समेत बताए ।

कार्यक्रममा नेकपा ब्युरो सदस्य नवीन, युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकलगायत वक्ताहरुले रुसी बोल्सेभिक कम्युनिस्ट पार्टीको विसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको नीति विरुद्ध माक्र्सवाद–लेनिनवादको झण्डा लिएर कमरेड माओत्सेतुङले विश्व समाजवादी शिविरको पक्षमा आजीवन संघर्ष गरेको चर्चा गर्दै येनान प्रवचनमा साहित्य र कलाको वर्गपक्षधरता र त्यसको महत्वबारे चर्चा गरेका थिए ।

अन्तर्राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रमको आरम्भमा माओत्सेतुङद्धारा रचित कविताहरु वाचन गरिएको थियो । कार्यक्रममा रुपा बुढा मगर, पारस राहादी मगर, पवन ज्ञवालीलगायतले कविता वाचन गरेका थिए । महासंघका जिल्ला अध्यक्ष विहानी मगरको अध्यक्षता र क्षितिज सांस्कृतिक परिवारका सहसंयोजक आत्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।