एक लाख घुससहित पक्राउ परेका बौद्धका डिएसपी धरौटीमा छुटे

प्रकाशित मिति:

कात्तिक २९ काठमाडौं– घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ। विशेषले राईसँग १ लाख ४० हजार धरौटी माग गरेको थियो। उनी सोही बराबरको रकमसहित आफ्नै कार्यकक्षबाट पक्राउ परेका थिए।

विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीसँग घुस रकम बराबरको धरौटी माग गरेको थियो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए। पछि आफैंले टिभी किनेर ल्याएकाले सो बापतको १ लाख ४० हजार रुपैयाँ दिनु भनी घुस लिँदालिँदै आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएकाले सोही उपदफाको (घ) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।