गुरुङ समुदायले ल्होसार मनाउंदै

प्रकाशित मिति:

सबलपोष्ट- बुटवल १५ पुस । गुरुङ समुदायले आफ्नो मुख्य चाड तमु ल्होसार पुस १५ गते मनाउंदै छन् । ल्होसारलाई गुरुङ समुदायले नयां वर्षका रुपमा पनि मनाउने गर्छन् । यो वर्ष च्यू–ल्हो (मुसा) वर्गको विदाई र ल्वों–ल्हो (गाई) वर्गको आगमन गर्दै ल्होसार मनाइदैछ ।

शुभकामना आदान प्रदान यसैबीच ल्होसारको अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले मंगलबार बुटवलमा शुभकामना आदान–प्रदान एवं छोंज धीं मुखपत्र तथा तमु क्यालेण्डर विमोचन गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकारसहित पहिचानको लडाई जारी रहेको बताएका थिए । कार्यक्रममा बोल्दैं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद संरक्षण समितिका केन्द्रीय सभापति माया गुरुङले आदिवासी जनजातिमाथि गरिदैं आएको विभेद अन्त्य हुंनुपर्नेमा जोड दिंदैं ल्होसारको विदा पुनःस्थापित हुनुपर्ने धारणा राख्नुभयो । ल्होसार गुरुङ समुदायले मात्रैं नभई सबै समुदायले मान्न थालेकाले राज्यले साझा पर्वको रुपमा घोषणा गर्न उहांले आग्रह गर्नुभयो । परिषद्का केन्द्रीय सदस्य जीएस गुरुङले प्रतिनिधि सभा विघटनले संघीयता,गणतन्त्र र धर्मनिरपेक्षता धरापमा परेको भन्दैं प्रतिनिधि सभा पुनस्थापनाका लागि सबै आदिवासी जनजाति आन्दोलनमा होमिनुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहाले समान अस्तित्व,अधिकारसहित पहिचानको ग्यारेन्टी नहुंदासम्म आदिवासी जनजातिको आन्दोलन नरोकिने बताउंनुभयो । कार्यक्रममा परिषद्का पूर्व केन्द्रीय सचिव भीम गुरुङ,केन्द्रीय सल्लाहकार ठाकुरजंग गुरुङ,खेमा लिपी निर्माता बालनरसिंह गुरुङ,जनजाति महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दिपक गुरुङ,सल्लाहकार राजु गुरुङ,फोनिज,रुपन्देहीका अध्यक्ष सनु थापामगर,तमु माङी समिति,रुपन्देहीकी अध्यक्ष जुनमाया गुरुङ लगायतले बोल्दैं सबै प्रकारको विभेद अन्त्य हुंनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रम अध्यक्ष बिमला गुरुङको अध्यक्षता,सचिव ओमप्रकाश गुरुङको संञ्चालन तथा वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागतमा सम्पन्न भएको थियो । ०६२–६३ को जनआन्दोलनपछि तमु ल्होसारमा दिंदैं आएको विदा नेकपाको सरकार लगत्तैं कटौति भएकाले गुरुङ समुदाय सरकारप्रति असन्तुष्ट बनेका छन् ।