प्रचण्ड पत्नी सीतालाई एक लाखमा तीन व्यक्तिलाई लाग्ने रोग !

प्रकाशित मिति:

२९ कार्तिक, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको प्राकृतिक उपचारका लागि केही दिनदेखि म्याग्दीको तातोपानी कुण्डमा छन् । तातोपानी कुण्डमा डुबुल्की मार्न लगाउँदै सीताको उपचार भइरहेको छ ।

यसअघि उनको थाइल्याण्डमा उपचार भएको थियो । त्यहाँ पनि तातो पानीमा डुबुल्की मार्न लगाएर उपचार गराइएका तस्बिरहरु सार्वजनिक भएका थिए ।

केही महिनाअघि एक–दुई सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा सीताले अस्वभाविक व्यवहार देखाएका तस्बिर तथा भिडियो सार्वजनिक भएका थिए । उनी मञ्चमा रहँदा छटपटिनेदेखि ढल्नेसम्मका समस्या देखिएका  थिए । खासमा के भएको हो सीतालाई ? आधिकारिक रुपमा परिवारले अहिलेसम्म सार्वजनिक गरेको छैन । दाहाल पारिपारिक स्रोतले न्यूजसेवालाई दिएको जानकारीअनुसार सीता दिमागसँग सम्बन्धित समस्याबाट ग्रसित छिन् । उनलाई पिएसपी अर्थात् प्रोग्रेसिभ सुप्रन्यूक्लियर पाल्सी रोग लागेको हो ।

कस्तो रोग हो पिएसपी ?
चिकित्सकहरुका अनुसार यो रोगले ब्रेन डिसअर्डर (मानसिक विकार) उत्पन्न गराउँछ । दिमागको केही सिमित भागको कोषिकाहरुको क्रमिक गिरावट नै पिएसपी हो ।  यसले शारीरिक चाल, सन्तुलन, व्यवहार र सोंचलाई बदलिदिन्छ । दिमागका कोषिकाहरुको क्षतिसँगै यस्ता समस्या निम्तिन्छन् । दिमागको यस्तो कोषिका जसले आँखाको चाललाई नियन्त्रणमा राख्ने काम गर्छ, यसलाई नै क्षति पुर्याउँछ । हिँडाईको चालमा अस्वभाविक परिवर्तन पिएसपीको सुरुवाती लक्षण हो । हिँडाइ सन्तुलन बाहिर जान्छ । पछि आँखा बन्द गर्न र खोल्न नै असहज हुँदै जान्छ ।  अहिलेसम्म पिएपी रोगको खास कारण भने पत्ता लाग्न सकेको छैन ।

एक लाखमा तीनदेखि छजनालाई लाग्ने रोग
पिएसपीबारे धेरै अनुमान छन् । तर, अधिकांश विशेषज्ञहरुका अनुसार विश्वमा यो रोग एक लाख व्यक्तिमा ३ देखि ६ जनासम्मलाई लाग्छ । लगभग २० हजार अमेरिकीलाई यो समस्या छ ।

६० वर्ष नाघेपछि लाग्ने रोग
यो रोग खासगरी ६० वर्ष पार गरेका व्यक्तिलाई लाग्छ । तर, यसअघि हुँदै हुँदैन भन्ने पनि होइन । ६० वर्ष नै नपुगेका व्यक्तिलाई पनि पिएसपीले सताएको छ । यो रोगबाट महिलाभन्दा पुरुष बढी पीडित हुने गरेको विश्व तथ्यांक छ ।

पार्किन्सन्स र पिएसपीमा के फरक ?
पार्किन्सन्स र पिएसपी रोगमा झट्ट हेर्दा एकै लक्षण देखिन्छन् । दुवैको समानता शारीरिक चालमा समस्या निम्त्याउनु हो । तर, पार्किन्सन्सको तुलनामा पिएसपीले निकै तीब्र गतिमा समस्या बढाउँछ । बोल्दा लरबरिने तथा ढिला हुने लक्षण दुवैका समान नै हुन्छन् । आँखाको चाल पार्किन्सन्समा सामान्य नै हुन्छ भने पिएसपीले असामान्य बनाउँछ ।

सीतालाई कहिलेदेखि समस्या ?
सीता नसासम्बन्धी रोगको पुरानै बिरामी हुन् । तर, छोरा प्रकाश दाहालको निधनसँगै उनको समस्या बढी जटिल बनेको पारिवारिक स्रोत बताउँछ । त्यसपछि नै उनमा पिएसपी रोगको पहिचान भएको हो । सीता एकोहोरो टोलाइरहने, भीडभाडमा बस्न रुची नगर्ने, अरु धेरै बोल्दा झन्झट मान्ने गर्छिन् ।

पानीमा डुबुल्की किन ?
नसासम्बन्धी रोग भएका व्यक्तिहरुलाई तातोपानीमा डुबुल्की मार्दा फाइदा हुन्छ । यसलाई वाटर थेरापी पनि भनिन्छ । डाक्टरहरुको सल्लाहअनुसार नै उनलाई यस्तो उपचार गरिएको पारिवारिक स्रोतले बतायो ।