तमु ल्होछारको अवसरमा प्रधानमन्त्रिद्धारा शुभकामना व्यक्त

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ)समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । ‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले यसलाई मौलिक पुँजीको रूपमा व्याख्या गरेका छन । प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन ।