नेकपा जिल्ला सदस्यसहित चारसय बढी कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

१६ पुस, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासी पश्चिमका दुईजना जिल्ला सदस्यसहित चारसय जना भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । जिल्ला सदस्यहरु दीपेन्द्र यादव, मजमुल्लह चुरिहार लगायत रामग्राम नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउंपालिकाका ती कार्यकर्ताल बिहीबार नै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री देवेन्द्रराज कण्डेलले पार्टी सदस्यता दिएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा बोल्दै सांसद कण्डेलले दुई वर्ष बांकी छंदै प्रतिनिधि सभालाई असंवैधानिक ढंगले विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको बताए । पार्टीभित्रको विवादमा सबैतिर अल्पमतमा परेपछि प्रधानमन्त्रीले निरंकुश शैलीमा संसद विघटन गरेको भन्दै मुलुकमा अब कम्युनिष्ट राजनीति समाप्त हुने दिशामा गएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल,महिला संघ जिल्ला सभापति कमला तिवारी पराजुली,केन्द्रिय शिक्षा बिभाग सद्स्य राधेश्याम पाठक,नेता अनिल गौड लगायतले बोल्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतानित्रक कदमबारे गाउंगाउंमा जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए । नव प्रवेशी यादव र चुरिहारले प्रधानमन्त्री ओली नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा मात्रै मुछिएको र झण्डै दुई तिहाई वहुमतको सदुपयोग गर्न नसकी उल्टै संसद विघटन गरेर अस्थिरता निम्त्याएकाले पार्टी छाड्नुपरेको बताए ।