कोरोना भाइरस महामारीको क्षति तुलनात्मक रुपमा न्यून गर्न नेपाल सफल भएको छ : प्रधानमन्त्रि

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीको क्षति तुलनात्मक रुपमा न्यून गर्न नेपाल सफल भएको बताएका छन्। नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मकरूपमा न्यून गर्न नेपाल सफल रहेको बताएका हुन्। उनले सङ्क्रामक महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि आग्रह पनि गरेका छन्। त्यस्तै, प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गरिने बताएका छन्।मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा  यातायात, पुल, रङ्गशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको उनको भनाइ छ। समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य भएको पनि उनको जिकिर छ।