तिलोत्तमाको मधौलियामा शुक्रबारदेखि मेयर कप नगर स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमाको मधौलियामा शुक्रबारदेखि मेयर कप नगर स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा १६ मधौलिया ब्याटमिन्टन क्लबको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । नगरपालिकाको ४ लाख आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् । तिलोत्तमा नगर खेलकुद विकास समितिको वार्षिक कार्यतालिका अनुसार आयोजित व्याटमिन्टन प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उप विजेताले ३० हजार पुरस्कार राशी प्राप्त गर्ने छन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई नगद १०र१० हजार पुरस्कार राशी प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले ग्लोबल आवाजलाई जानकारी गराए ।

तिलोत्तमामा यस आर्थिक वर्षमा हुने अन्य खेलकूद गतिविधिहरुको कार्यतालिका सार्वजनिक भइसकेका छन् । ब्यटमिन्टन सहित यो वर्ष विभिन्न ९ वटा प्रतियोगिता हुन लागेको हो । कार्यतालिका अनुसार यसै महिना पुस २६ र २७ गते विद्यालय स्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता आयोजना हुने छ । यसैगरी आगामी माघ ८ गतेदेखि ३ दिनसम्म उपमेयर खुल्ला भलिबल प्रतियोगिता, माघ २२ गतेदेखि ३० गतेसम्म मेयर कप रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता हुने भएका छन् ।