दुबै पक्षले जितेको महशुस गराउने प्रयासमा छौं?

प्रकाशित मिति:

तोलाकान्त बगाले,वालिङ, १८ पुस- वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलाहरुको वडास्तरकै मेलमिलापकर्ताहरुले मिलाउने गरेका छन् ।नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा भएका मुद्दा मामिलाहरुलाई वडास्तरबाटै मिलाउने गरी ब्यवस्थापन गरेको छ ।विभिन्न वडाका एकसय २० जना मेलमिलापकर्ताहरुले ४८ घण्टे तालीम लिएर नगरपालिकाको न्यायिक समितिमा सूचिकृत भएका छन् ।सूचिकृत मेलमिलापकर्ताहरुले प्रत्येक वडामा रहेको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलाहरुको किनारा लगाउने गर्नुहुन्छ । वडामा एक÷एक जना संयोजक र अन्य सदस्यहरु मिलेर मुद्दाको छिनोफानो गर्ने गरिएको अनुभव वालिङ ९ की मेलामिलापकर्ता संयोजक दीपा भुसालको छ ।नगर उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समिति अन्तर्गत हेर्न मिल्ने विभिन्न खालका मुद्दा मामिलाहरुलाई वडास्तरबाटै टुङ्ग्याउने गरेको संयोजक भुसालको भनाई थियो ।

 

“जग्गासम्बन्धी विवाद, लेनदेन, कुटपिट, झैझगडा लगायतका मुद्दाहरु केन्द्रमा बढी आउने गरेका छन्” संयोजक भुसालले भन्नुभयो, “दुबै पक्षको सल्लाहमा सूचिकृत मेलमिलापकर्ता छनोट गरी पीडक र पीडित पक्षले छनोट गरेको मेलमिलापकर्तामार्फत मुद्दा मिलाउने गरिएको छ ।”मेलमिलाप केन्द्रले मुद्दा मामिलाहरुमाथि छलफल गरी सहमति गर्दा पीडक र पीडित पक्ष दुबैले जितको महशुस गरेर फर्कने गर्नुहुन्छ यो आँफूहरुका लागि पनि निक्कै महत्वपूर्ण पक्ष एवं सफलताको विषय भएको संयोजक भुसालले बताउनुभयो ।वडास्तरमै विवादहरु मिलाउन सकिने भएपछि प्रहरी प्रशासनमा जाने क्रम हटेर गएको र वडास्तरबाटै सेवा पाएपछि सहज भएको वडा नं. १४ का संयोजक लोकनाथ डुम्रेले बताउनुभयो ।“न्यायिक समितिले हेर्न मिल्ने खालका विवादहरु वडास्तरबाटै समाधान हुन्छन्” संयोजक डुम्रेले भन्नुभयो, “मेलामिलाप केन्द्रमार्फत समाधान गर्न सकिने विवादहरुकाबारेमा नागरिकसमक्ष सूचना, सन्देशहरु पु¥याउनुपर्ने आवश्यकता देखेको छु ।”पीडित पक्षले वडा मेलमिलाप केन्द्रमा निवेदन दिने र सोही निवेदनका आधारमा पीडक पक्षलाई डाकेर दुबै पक्षले छनोट गरेको सूचिकृत मेलमिलापकर्तामार्फत विवादमाथि छलफल गरेर दुबै पक्षलाई जितको महशुस हुने गरी निर्णय गरिने संयोजक डुम्रेले बताउनुभयो ।मेलमिलाप केन्द्रमार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा २ को मेलमिलाप गर्ने एघार प्रकारका मुद्दाहरुको मेलमिलाप गराउन सक्ने प्रावधान रहेको वालिङ नगरपालिका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।

“मुद्दाहरु वडास्तरमै मेलमिलाप केन्द्रमा दर्ता हुन्छन् र त्यहीमार्फत निरुपण हुन्छन्” कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “वडास्तरीय मेलमिलाप केन्द्रमार्फत निरुपण हुन नसकेका मुद्दाहरुलाई नगरमा रहेको न्यायिक समितिमार्फत मेलमिलापका माध्यमबाट टुङ्गो लगाईने छ ।”न्यायिक समितिमा जग्गा सम्बन्धी विवाद, आर्थिक लेनदेन, पारिवारिक बेमेल, घरेलु हिंसा, सामान्य कुटपिट जस्ता मुद्दा बढी आउने गरेका शाखा प्रमुख पौडेलले बताउनुभयो ।“प्रत्येक वडाबाट सहभागिता हुने गरी आठ दिनको ४८ घण्टे तालीम दिएको र मेलमिलापकर्ताको सूचि दर्ता गरी सूचिकृत मेलमिलापकर्तालाई नै वडाको मुद्दा तथा विवाद मिलाउने जिम्मा दिईएको छ” उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले भन्नुभयो, “प्रत्येक वडामा मेलमिलाप केन्द्र तथा मेलमिलाप समिति गठन भएसँगै विवादहरु त्यहीँ समाधान हुने भएकाले नगरपालिकामा आईरहनुपर्ने झण्झट हटेर गएको छ ।”सूचिकृत भएका मेलमिलापकर्ताबाट एक जना संयोजक र अन्य सदस्य रहने गरी मेलमिलाप समितिको ब्यवस्था मिलाईएको न्यायिक समिति संयोजक तिवारीले बताउनुभयो । वालिङ नगरपालिकाले प्राकृतिक द्वन्द्व स्रोत रुपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोग र द एशिया फाउण्डेशनको आर्थिक सहयोगमा वडास्तरमा मेलमिलाप केन्द्रको स्थापना गरेको छ । वालिङ नगरपालिकाले प्रत्येक वडा–वडाबाट मेलमिलाकर्ताहरुको समिति बनाएर वडास्तरबाटै न्यायिक निरुपणको नमूना अभ्यास थालेको न्यायिक समिति संयोजक तिवारीको दाबी छ ।

“वडास्तरीय समिति तथा न्यायिक समितिले विवादहरु समाधान पश्चात पनि त्यसको कार्यान्वयन पक्षकाबारेमा जानकारी लिने गरेका छौं” न्यायिक समिति संयोजक तिवारीले भन्नुभयो, “मिलापत्र भएर गएकाहरुले कार्यान्वयन पक्षमा ध्यान दिनुभएको र विवादहरु फेरि फर्केर नआएको अनुभव न्यायिक समितिसँग रहेको छ ।”