कृष्ण पहाडी भन्छन् : प्रतिनिधि सभा विघटन गम्भीर अपराध

प्रकाशित मिति:

बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधि सभा विघटनलाई ‘चोरले समेत गर्न नसक्ने अपराध’का रुपमा टिप्पणी गरेका छन् । पार्टीभित्रको झगडालाई लिएर प्रतिनिधि सभा विघटन गर्नु गम्भीर अपराध भएको पहाडीको भनाई छ । प्रधानमन्त्री ओलीले संविधान, संसद र लोकतन्त्रमाथि एकसाथ आगो लगाई देशलाई दुर्घटनामा लगेको पहाडीले बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औं साधारणसभा तथा अन्तरक्रियामा बोल्दै पहाडीले अहिलेको संविधानमा प्रतिनिधि सभा विघटनको परिकल्पना नै नगरिएको स्पष्ट पारे । ‘हाम्रो संविधानले प्रतितनिधि सभा विघटनको परिकल्पना नै गरेको छैन, तर ओलीले संविधान च्यातेर देशलाई दुर्घटनामा लगे’– पहाडीले भने–‘संविधान,संसद र लोकतन्त्रमाथि आगो लगाउने काम भयो,चोरले पनि कसैको घरमा आगो लगाउंदा आफ्नो घर भन्दा तीन घर छाडेर लगाउंछ, तर ओलीले तीन घर पनि नछाडी आफ्नै घरमा आगो लगाए ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्नेमा जोड दिंदै पहाडीले नभए बैसाखपछि प्रधानमन्त्री पनि अवैध हुने र त्यसपछि मुलुक अस्थिरता, विदेशीको क्रिडास्थल र सैनिकिकरणतर्फ जाने खतरा औंल्याए । प्रतिनिधि सभा पुनस्थापना हुंदैन भन्ने प्रधानमन्त्री ओलीमाथि अदालतको मानहानीको मुुद्दा हाल्नुपर्ने पहाडीले तर्क गरे । प्रतिनिधि सभा पुनस्थापना नहुंदा अर्को खिलराज रेग्मीको जन्म हुने र राष्ट्रपति सक्रिय हुने पनि उनले औंल्याए । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाको संसद विघटनमा सांठगांठ भएर प्रमाणित भए उनलाई मात्र नभई सिंगो कांग्रेसलाई राम्रो नहुने चेतावनी समेत पहाडीले दिए ।  प्रतिनिधि सभा पुनस्थापना नभए संविधान फेल हुन्छ,बैसाखपछि प्रधानमन्त्री पनि अवैधानिक हुन्छन्’–पहाडीले भने–‘अस्थिरता शुरु भएपछि वैदेशिक शक्ति, क्षेत्रीयतावादी, जातिवादी जस्ता अतिवादी शक्तिहरुको उदय हुन्छ ।’ जन निर्वाचित प्रतिनिधि सभालाई दुई वर्ष बांकी छंदै विघटन गरेकाले अब हुने चुनावमा प्रधानमन्त्री ओलीको पार्टीलाई भोट दिनु भनेको आफ्नै हात काट्नु सरह हुने पहाडीले तर्क गरे ।

विष्णु पौडेल मिडियामा मुख देखाउन नसक्ने भए- ओली पक्षीय नेताहरु विष्णु पौडेल,सुवास नेम्बाङ र शंकर पोखरेलको नाम लिंदै पहाडीले प्रश्न गरे–‘उहांहरु जनतामाझ के भनेर भोट माग्न जानुहुन्छ,विष्णु पौडेल र सुवास नेम्बाङ मिडियामा जमान नसक्ने भए, शंकर पोखरेल ५० जना कार्यकर्तामाझ भाषण गर्दै हिंड्नुपरेको छ । प्रतिनिधि सभा विघटनपछि गणतन्त्र विकृत भएको र जनतामा निराशा छाएको तर राजावादी र विप्लवहरु सबैभन्दा बढी खुशी भएका औंल्याउंदै पहाडीले राजतन्त्र ब्युतिन सम्भव नभएको बताए ।

राष्ट्रपतिले सुराकी गरिन्  राष्ट्रपति विद्या भण्डारीले सत्तारुढ दल नेकपाका ८३ जना सांसदले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन समावेदन गर्न जांदा उक्त निवेदन दर्ता नगरेर गल्ती गरेको पहाडीले टिप्पणी गरे । ‘संविधानतः उक्त समावेदन दर्ता गर्नुपथ्र्यो तर राष्ट्रपतिले दर्ता नगरी उल्टै प्रधानमन्त्रीलाई सुराकी गर्नुभयो’– पहाडीले भने । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संबैधानिक कू भएको भन्दै संम्बिधान विरोधी ओली कदमको न्यायालयले संसदको पुर्नस्थापना गरेर देखाई दिनुपर्नेमा जोड दिइन् । उनले पार्टी भित्रको किचलो मिलाउन नसक्ने अनि संविधानमा नै व्यवस्था नभएको विषयमा संसद विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद अलोकतान्त्रीक कदम भएको आरोप लगाइन् । लुम्बिनी प्रदेशका सांसद तथा नेकपाका नेता विष्णु पन्थीले ओलीले जनताको अभिमतलाई कुल्चेर देशलाइ बर्बादी बनाएको आरोप लगाए ।यो संकटका बेला राज्यको अर्वाै खर्च गरेर चुनाव गर्नुको कुनै अर्थ नभएको उनको ठहर छ ।मुलुक ठूलो दुर्घटनातर्फ गएको भन्दै उनले बचाउन सबै जुट्नुपर्ने बताए । पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको भन्दै अब लोकतन्त्र रोज्नेकी प्रतिगमन रोज्ने वेला आएको धारणा राखे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनिले राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरेको बताए । प्रधानमन्त्रीको लहडका भरमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक रूपमा चालेको कदम भएको बताए । समाजका बरिस्ठ उपसभापति गोविन्द खनालले असवैधानिक एवं अलोकतान्त्रिक तवरले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेको आरोप लगाए । श्ाँन्ति समाज रुपन्देही सभापति डीपी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेडयुनियन कँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, राससका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोग बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा ,माहुरी होमका रवि ठाकुर, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर, समाजका केन्द्रिय सचिव कृष्ण रावल, केन्द्रिय सदस्य मीना ढकाल,रुपन्देहीका सचिब अर्जुन ज्ञवाली लगायतले धारणा राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले प्रधानमन्त्री ओलीको अलोकतान्त्रीक,असंबैधानिक आत्माघाती कदमको बिरोध गर्नुपर्ने बताएका थिए ।