मन्त्री पाउने आश्वासनपछि गुट फेरे दधिरामले

प्रकाशित मिति:

बुटवल । पुर्व माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहमा लागेका छन् । रुपन्देही–१ बाट निर्वाचित उनी एक साता अघि दाहाल नेपाल पक्षको रुपन्देहीको जिल्ला भेलामा सहभागी भई ओली पक्ष विरुद्ध चर्को भाषण गरेका थिए । प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति उनलाई प्रदेश सरकारमा मन्त्री बनाउने आश्वासनपछि ओली समूहमा लागेको दाहाल–नेपाल पक्षको दावी छ ।

‘मन्त्री बन्न पाउने लोभमा उहांले आफ्नो विचार र निष्ठा त्यागेर असंवैधानिक कदम चाल्नेहरुको पक्षमा लाग्नुभयो’–दाहाल–नेपाल पक्षका एक सांसदले भने–‘मलाई पनि गुट परिवर्तन गरेर मन्त्री बन्न आउनुस् भनेका छन्, अरुलाई पनि मन्त्रीको लोभ देखाइएको छ ।’ न्यौपानेले विचार, दृष्टिकोणमा ओली पक्ष र दाहाल नेपाल पक्षबीच फरक नदेखिएकाले ओली पक्ष नै सही लागेर गुट परिवर्तन गरेको बताए । शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर दाहाल नेपाल पक्षको भेलामा गएको तर अध्ययन गर्दै जांदा ओलीको कदम सही लागेको प्रतिक्रिया दिए ।

अब प्रदेश सभामा पुर्व माओवादीका २० जना मध्ये दाहाल नेपाल पक्षमा १८ जना मात्रै खुलेका छन् । गुल्मीका दिनेश पन्थी पनि पर्ख र हेरको अवस्थामा दोधारमा रहेका छन् । यद्यपि ओली समूहले पन्थी पनि आफ्नो पक्षमा आएको दावी गरेका छन् । पुर्व एमालेबाट निर्वाचित ४१ जना मध्ये दाहाल नेपाल पक्षमा खुलेर कपिलवस्तुका विष्णु पन्थी मात्रै लागेका छन् । प्रदेश सभा निर्वाचनमा माधव नेपाल पक्षबाट टिकट पाएर चुनाव जितेका अरु ९ जना अहिले ओली पक्षमा छन् । कृषि मन्त्री आरती पौडेल र उपसभामुख कृष्णी थारु वामदेव गौतम पक्षका मानिन्छन् । ८७ जना सांसद रहेको लुम्बिनीमा सरकारलाई वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । शंकर पोखरेल मुख्यमन्त्रीमा टिकिराख्न उनलाई थप ५ जना सांसद आफ्नो पक्षमा ल्याउनुपर्ने देखिन्छ । सरकारलाई अल्पमतमा पर्न नदिन उनले यतिबेला जिल्ला दौडाहा र सांसदहरुलाई फोन सम्पर्क गरेर विभिन्न आश्वासन बांड्ने गरेको विपक्षीहरुको भनाई छ ।