अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा

प्रकाशित मिति:

पौष १८, शनिबार । बुटवल, रूपन्देही । रूपन्देहीको बुटवल–११ मा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा आज (शनिबार) बुटवलमा सम्पन्न भयो । स्वास्थ्य–सुरक्षा सतर्कताका कारण प्रतिनिधिमुलक रूपमा भएको साधारण सभाले छिमेकी संस्था क्षितिज सहकारीसँग समायोजन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले अबका दिनमा बचत र ऋण लगानीसँगै आफ्ना विशिष्ट सेवा तथा उत्पादन पनि सहकारीले सञ्चालन गर्नुपर्ने बताए । साथै, त्यसका लागि ठूला आकारका सहकारीमा परिणत गर्न समायोजन सहज र उपयुक्त विकल्प हुनेमा जोड दिएका थिए । संस्था सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालन र उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनाल, क्षितिज सहकारीका अध्यक्ष विष्णुप्रसाद बस्याल, शुभागमन सहकारीका अध्यक्ष हरिप्रसाद पौडेल, सल्लाहकार लोकनाथ उपाध्याय, संस्थापक अध्यक्ष मिनराज ज्ञवाली, शेयर सदस्यहरूका तर्फबाट दुर्गा आचार्य लगायतले बोल्नुभएको थियो ।

सञ्चालक समितिका तर्फबाट अध्यक्ष टंकनाथ अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक तुल्सा शर्मा ज्ञवाली र कोषाध्यक्ष लक्ष्मणप्रसाद ज्ञवालीले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।