तिलोत्तमामा रेल गुड्ने

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन गरिदै छ । नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालनका लागि तयारी गरिएको हो । आइतबार तिलोत्तमा नगरपालिका चक्रपथ ट्राम रेल्वेको डिपीआर उद्घाटन गरिएको छ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाएको छ । ट्राम रेल्वेको डिपीआर उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बनसुदेव घिमिरेले पव्लिक शेयरमा सञ्चालन हुने रेलका लागि नगरपालिकाले सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो ।  दुइ वर्ष भित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने बताउनुभयो ।

तिलोत्तमा पव्लिक रेल्वे कम्पनीका प्रबन्धक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेल्वे बनाएर रेल सञ्चालन गरिने बताउनुभयो । रेल सञ्चालन भएपछि सडकमा कुनै अबरोध नहुने र कोलाहाल पनि नहुने र वातावरणका कुनै असर नपर्ने जानकारी गराउनुभयो । ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुंदा बे्रक लगाएर पनि यो रेल रोक्न सकिने बताउनुभयो । रेल सञ्चालनका लागि बाटो, पैसा र रेल कहांबाट ल्याउने भन्ने प्रमुख समस्या भएपनि तिलोत्तमाका लागि कुनै समस्या नहुने दावी गर्नुभयो ।