पार्टी नेताको पक्षमा संस्थागत निर्णय नगर्न अधिकारीको आग्रह

प्रकाशित मिति:

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पार्टीका शीर्ष नेताको पक्षमा संस्थागत निर्णय नगर्न आग्रह गर्नुभएको छ । केन्द्रीय तहमा नेताहरुको किचलोका कारण पार्टीमा समस्या आएको भन्दै उहाँले तर कुनै पक्षमा संस्थागत ढंगले निर्णय गरी क्रियाशिल नहुन आग्रह गर्नुभयो ।  स्याङ्जाको गल्याङ नगरपालिका ६ चितुङमा पि. वि. वि. सि. एन. कालिका परिवार तथा महिला समूहको भवन उद्घाटन कार्यक्रममा उहाँले व्यक्तिगत रुपमा जसलाई जो सुकै मन पर्न सक्ने भन्दै संस्थागत निर्णय गर्नु घातक हुने बताउनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी नेकता जिल्ला सदस्य समेत रहनुभएका अधिकारीले पार्टी विभाजनको पक्षमा कोही लाग्न नहुने भन्दै संस्थागत निर्णय भएमा पार्टी विभाजनलाई टेवा पुग्ने बताउनुभयो । संसद विघटनको निर्णय फिर्ता लिने पक्षमा लाग्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘संसद विघटनको निर्णयले अस्थिरता ल्याउने काम भएको छ । यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो माग हो ।’नगरप्रमुख अधिकारीले कोही संसद विघटनको पक्षमा समेत रहेको भन्दै जुनसुकै पक्षमा रहने अधिकार व्यक्तिमा भए पनि पार्टी कमिटिबाट कुनै निर्णय गराउन नहुनेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले पार्टीमा देखिएको समस्याले गल्याङ नगरपालिकाको विकास निर्माण प्रक्रियामा कुनै असर नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘परिस्थिति जस्तोसुकै बने पनि म तपाईको गोठालो भएर रातदिन क्रियाशिल रहेको छु र मेयरको कार्यभार रहेसम्म रहनेछु ।’
आफुलाई जनताले विश्वास गरी पठाएको भन्दै नगरप्रमुख अधिकारीले विकास निर्माण कुरामा क्रियाशिल हुन आफुलाई कुनै घटनाले फरक नपार्ने बताउनुभयो । नयाँ नगरपालिका भएका कारण नगरपालिकाको भवन निर्माण सहितका संरचना बनाउनुपर्ने भएकाले सोचेजति विकासका काम गर्न नपाएको भन्दै उहाँले सक्दो प्रयास भैरहेको बताउनुभयो ।  नगरपालिकाको आफ्नै डोजरबाट सडक निर्माणको काम भैरहेको भन्दै उहाँले भ्रष्टाचार र अनियमितता हुन नदिन आफुले विभिन्न योजना ल्याएको बताउनुभयो ।  नगरप्रमुख अधिकारीले भाल्थुमकोटलाई पर्यटकीय रुपमा अगाडि बढाउन अझै पहल गर्ने प्रतिबद्वता जनाउनुभयो । कृषि र पर्यटनका माध्यमबाट नगरपालिकालाई विकास र सम्बृद्विमा पु¥याउन आफुले विभिन्न योजनाहरु ल्याएको भन्दै उहाँले योजना कार्यान्वयनका लागि एकताबद्व भई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पि. वि. वि. सि. एन. कालिका परिवार तथा महिला समूहलाई अझै सहयोग गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।  कार्यक्रममा वडा नम्बर छ का अध्यक्ष टिकाराम भुषाल, शिक्षक झविलाल पाण्डे लगायतले मन्तव्य राख्नुुभएको थियो ।  गल्याङ नगरपालिकाको विशेष सहयोगमा पि. वि. वि. सि. एन. कालिका क्लब तथा महिला समूहको सहयोगमा रु. १० लाख ३५ हजार आठ सय ९४ को लागतमा चितुङ सामुदायिक भवन निर्माण भएको हो ।