संसद विघटनले लुम्बिनी प्रदेशमा केही असर देखिंदैन : मन्त्रि चौधरी

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले संसद विघटनले अन्य प्रदेशमा असर देखिएपनि लुम्बिनी प्रदेशमा केही असर नपरेको बताएका छन् । उनले यससँगै प्रदेश सरकार सुरक्षित रहेको दावी समेत गरे । लुम्बिनी प्रदेश सरकारका प्रबक्ता समेत रहेका चौधरीले प्रदेशका सांसदहरुले मुख्यमन्त्री बिरुद्ध अविश्वासको मत जाहेर नगरेको र त्यस समबन्धी कतै पनि तयारी वा असन्तुष्टि नदेखिएकाले प्रदेश सरकार सुरक्षित रहेको दावी गरेका हुन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेको भन्दै संसद पूर्नस्थापना हुने संभावना नरहेको दाबि गरे । पार्टीभित्रै असहयोग भएका कारण अहिलेको दुर्घटना भएको बताउँदै उनले गतिशिल सरकारलाई अवरोध र बाधा निम्याउने काम भएपछि प्रतिक्रिया स्वरुप यो अवस्था सिर्जना भएको बताए । र यो सामान्य प्रतिक्रिया भएको उनको भनाई थियो । अहिले सांसदहरु संस्थापनपक्ष ओलीतिर खुलेर लाग्नेक्रम शुरु भएको बताउँदै उनले भने—‘हिजो एमएसजी हाम्रो कित्तामा खुलेरै आउनुभो, अब पूर्व माओबादीका ५÷७ जना सांसदहरुसँग पनि छलफल भईरहेको छ’ त्यसैले सरकार अल्पमतमा छैन, सुरक्षित रहेको छ ।’ मन्त्रीको लोभ देखाएर सांसदहरु किनबेच भैरहेको हो त भन्ने पत्रकारको जिज्ञासामा उनले भने —‘अहिले प्रदेशमा तत्काल मन्त्रीमण्डलमा रहेका साथीहरुलाई कारबाही पनि हुदैन, नया थपिने संभावना पनि छैन, यो केन्द्रको निर्देशनमा भर पर्छ ।’ तर प्रदेश सरकारको काम कारबाही थप प्रभाबकारी बनाउन मन्त्रालय फुटाउन र मन्त्री थप्न पनि सकिने उनले बताए ।

त्यस्तै स्थायी राजधानी तोकिएको दाङमा प्रदेशसभा बैठक र सरकार तत्कालका लागि नजाने भन्दै मन्त्री चौधरीले उता स्थायी संरचना बनेपछि मात्रै जाने जानकारी दिए । लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाई समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाइन् । नेकपाको लडाइले जनतामाथि धोका भएको र लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको उनको भनाई थियो । उनले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह समेत गरिन् । जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताए । उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने र अविश्वासको मतपनि नआएकाले प्रदेशमा यहि नै हुन्छ भन्ने अवस्था नभएको बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो । सो कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।