चालकको लापरबाहीले सवारी दुर्घटना बढी

प्रकाशित मिति:

नारायण खड्का (रासस)
काठमाडौं / सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापरवाही रहेको पाइएको छ। चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापरवाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। चाडबाडका बेला देशमा कूल ७०७ सवारी दुर्घटना भएकोमा ५१२ दुर्घटनामा चालकको लापरवाही भेटिएको छ। उक्त दुर्घटनामा कूल १५१ को मृत्यु र ९७९ घाइते भएका छन्। नेपालीको मुख्य चाड दशैँ र तिहारको अवधिमा भएका सवारी दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अध्ययन गरेको थियो। ‘सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापरवाही पाइयोु, प्रवक्ता सुवेदीले भने, ‘अन्य कारणमा ओभरटेक, तीव्रगति र मापसेलगायत छ।’ प्रहरीले विभिन्न सचेतनामूलक कर्यक्रमसहित दुर्घटना न्यूनीकरणका उपाय अपनाएर कारवाहीलाई तीव्र बनाए पनि चालकको लापरवाही भने घट्न सकेको छैन।तिहारका बेला मलुकभर कूल २०५ सवारी दुर्घटना भएको थियो। त्यसमध्ये १५४ दुर्घटनामा चालकको लापरवाही पाइएको प्रहरीले जनाएको छ। जुन कूल दुर्घटनाको झण्डै ७५ प्रतिशत हो। ओभरटेक गर्दा पाँच, तीव्र गतिका कारण ३३, मापसेका कारण पाँच तथा यात्रुको लापरवाहीले पाँच दुर्घटना भएका छन्। दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छ। त्यसपछि जीप, कार बढी दुर्घटनामा परेको पाइएको छ। कात्तिक १९ देखि २४ सम्म तिहारका बेला विभिन्न दुर्घटनामा ३९ को मृत्यु भएको र २३० घाइते भएका छन्। यस्तै दशैँको अवसरमा भएको दुर्घटनाको अध्ययन गर्दा पनि झण्डै ६८ प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिएको छ। कूल ३५५ दुर्घटनामध्ये २४२ दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रवक्ता सुवेदीले जानकारी दिए। तीव्रगतिका कारण ५८, मापसेका कारण आठ, यान्त्रिक गडबडीले १० र यात्रुको गल्तीले २४ दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। गएको असोज २४ देखि कात्तिक ५ गते दशैँको अवधिमा भएको दुर्घटनामा ११२ को मृत्यु तथा ७४९ घाइते भएका छन्। सडकको दूरावस्था र निजी सवारीको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ।महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त सडकको स्तरोन्नति गरी निजी सवारी आयातलाई कडाइ गर्नु जरुरी रहेको ‍औँल्याउँछन्। काठमाडौंका उपत्यकामा भने अन्य जिल्लाको तुलनामा सवारी चाप बढ्दो छ। वाग्मती अञ्चलमा चल्ने सवारीमध्ये ९४ प्रतिशत गाडी काठमाडौं उपत्यकामा गुड्ने ट्राफिक प्रहरीको भनाइ छ। एकजना प्रहरीले डेढ किलोमिटर सडकको ट्राफिक व्यवस्थापन हेर्नुपर्ने अवस्था रहेकाले पनि दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई समस्या छ। महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्री यसपटक चाडबाडका बेला उपत्यकामा सात हजार बढी प्रहरी परिचालन गरिएकाले ठूला आपराधिक घटना नभएको बताउछन्। प्रहरीका अनुसार चाडबाडका बेला कूल ७०७ सवारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ३३३ दुर्घटना भएका छन्। सो सवारी दुर्घटनामा उपत्यकामा १५ को मृत्यु तथा १७७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।