थारु जातिको नयाँ वर्षको अवसरमा रुपन्देहीमा माघी महोत्सव हुने

प्रकाशित मिति:

भैरहवा २१ पुस । थारु जातिको नयाँ वर्षको अवसरमा रुपन्देहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याण कारिणी सभा रुपन्देहीको आयोजनामा माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’भन्ने मूल नारासहित माघ महोत्सव हुने भएको हो । थारु नयाँ वर्ष २६४५ औ माघीको अवसर पारी माघ महोत्सव मनाउने थारु कल्याण कारिणी सभाका जिल्ला सभापति सतिश कुमार चौधरीले जानकारी दिए । थारुहरु नै राष्ट्रको मुलवासी भएको र थारु भाषा, संस्कृतिको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए । मायादेवी गाउँ पालिका वडा नम्बर ८ मतकोलवाको जनचेतना आधारभुत विद्यालयमा पुस २८ गते मुल समारोह मनाउने र सो भन्दा अघि पुस २७ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको सभापति चौधरीले बताए । मुल समारोह कार्यक्रममा धिकरी, घोङी, पटुसनी, पकौडी लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिनेछ । यस्तै थारु भेषभुसाको प्रदर्शन एवं संस्कृतिको प्रवद्र्धन, संरक्षण हुने अन्य कार्यक्रमको आयोजना समेत गरिने छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री डा.सुरेन्द्र चौधरी आउने आयोजकले जनाएका छन् । थारु कल्याण कारिणी सभाका जिल्ला सभापति सतिश कुमार चौधरीको अध्यक्षता केन्द्रिय उपसभापति देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव सरिता चौधरीले गरेकी थिइन् ।