न्यायालयसँग प्रतिनिधिसभा पुनर्स्थापना गर्नुको अर्को विकल्प छैन : रामचन्द्र पौडेल

प्रकाशित मिति:

काठमाडौं, पुस २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नु पर्ने बताएका छन्। म‌ंगलबार नयाँ बानेश्वरमा जसपा नेपालले गरेको ‘‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले अदालतले पुनर्स्थापना गर्नु पर्ने बताएका हुन्।

‘संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन,’ उनले भने,‘ संवैधानिक आधारविना जबरजस्ती संसद विघटन भयो भनिएको छ। यसलाई अदालतले अब सच्याउनुपर्छ। त्यसको विकल्प छैन। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै संवैधानिक आधारबिना हचुवाका भरमा संसद विघटनको सिफारिस गरेको र त्यसलाई रवरस्ट्याम्प बनेर राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएको आरोप पनि लगाए।

उनले प्रधानमन्त्री ओलीले आफूले पाउँदै नपाएको अधिकार प्रयोग गर्दा देशमा अनर्थ भएको बताए। पौडेलले प्रधानमन्त्री ओलीले संसद संसद विघटन गरेर लोकतन्त्रमाथि छुरा प्रहार हानेको र संविधानलाई रछ्यानमा मिल्काउने दुश्प्रयास गरेको पनि बताए। उनले आवश्यक परे अदालतमा गरेर आफूहरु बहस गर्न पनि तयार रहेको बताए।