गल्याङ नगरपालिकामा गरिएको निबन्धलेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा भएको नगरपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।  नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बुधबार प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।
गएको भदौ २९ गते बाल दिबशका अवसरमा ‘कोरोना कहरमा विद्यालय शिक्षा’ शीर्षकमा अनलाइनको माध्यमबाट भएको प्रतियोगितामा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले शिक्षा र बालबालिकालाई जोडर नगरपालिकामा विशेष कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो –‘बालबालिकालाई लक्षित गरेर हामी विशेष कार्यक्रम ल्याउन लागेका छौं । यसले विद्यार्थीको रचनात्मक विकासमा सहयोग पुग्ने मेरो विश्वास छ ।’नगरप्रमुख अधिकारीले बालबालिकालाई किताबी ज्ञानका साथै अन्य क्षेत्रमा समेत क्रियाशिल बनाउनका लागि अन्य कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले विकास निर्माणका अन्य कामहरु र कृषिमा विशेष प्राथमिकता दिइरहेको भन्दै उहाँले अब बालबालिकाको क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केदारराज आचार्यले कलिला बालबालिका भविश्यका कर्णधार भएको भन्दै उनीहरुको बहुआयामिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा शाखाका सदस्य राजेन्द्रदेब खनालले अनलाइनबाट गरिएको प्रतियोगितामा नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी सहभागि भएको जानकारी दिनुभयो । गल्याङ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको प्रतियोगिताको संयोजन शिक्षा युवा तथा खेलकुद शाखाले गरेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख अञ्जु खड्काले अतिरिक्त क्रियाकलाप अन्तरगत अनलाईनबाट प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुँदै वडा नम्बर छ पिडिखोलामा रहेको नरोदय माध्यमिक विद्यालयकी छात्रा चन्द्रकला पाण्डेले रु. पाँच हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।  यस्तै गल्याङ नगरपालिका ३, गल्याङ बजारमा रहेको चिराग आवासीय माध्यमिक विद्यालयकी छात्रा विनम्रता लुइटेलले दोश्रो हुँदै तीन हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभएको छ । वडा नम्बर ११ मा रहेको गल्कोट माध्यमिक विद्यालयकी छात्रा सृष्टी अधिकारीले तेस्रो हुँदै दुई हजार रुपैयाँ र प्रमाणपत्र पाउनुभएको छ ।