तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाइ स्थापना गरेको हो । इकाई कार्यालयको आज नगर प्रमुख बासुदेव घिमिरेले सुभारम्भ गर्नुभयो । तिलोत्तमा नगरस्तरीय भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।

नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्य लगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरुको व्यबस्थापन गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यस पश्चात् आयोगलाई सुचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णय समेत गरेको छ । सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो । अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उहाँले भनाइ छ । इकाई कार्यालयमार्फत् आयोगले बनाएको फारमको ढाँचाअनुसार लगत संकलन गरिने उहाँले बताउनुभयो ।