प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित

प्रकाशित मिति:

प्रकाश न्यौपाने

भैरहवा, पुस २५, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देहीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले कपिलवस्तुलाई ७९ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ८ विकेट गुमाई १६७ रनको योगफल बनायो । उसका लागि संदीप रजालीले ३९, देव खनालले ३३, संदीप सुनारले २७, विक्रम भुसालले नटआउट १७ र कृष्ण कार्कीले १६ रन बनाए ।

बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले ४, गंगेशकुमार हरिजनले २, राज अग्रहरी र रमेश पाठकले १÷१ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २७.३ ओभरमा सबै विकेट गुमाई जम्मा ९८ रन मात्र बनाउन सक्यो । उसका लागि रमेश पाठकले २०, राज अग्रहरीले १४ र सुमन थापाले १३ रन बनाए । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका अनिल खरेल र विक्रम भुसालले ३÷३ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता, नितेष थापा र संदीप सुनारले समान १÷१ विकेट लिए । रुपन्देहीका विक्रम भुसाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । भोलि नवलपरासी र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो । गु्रप बि अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा भोलिबाट हुँदैछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।