नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी

प्रकाशित मिति:

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण प्रसाद शर्मा विजयी भएका छन् । शर्माले सिद्धार्थनगर उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका थिए । शनिवार भैरहवामा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा विजयी शर्माले जिल्ला नगर तर्फ २२ र एशोसिएट तर्फ ७८ मत प्राप्त गरे । त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी बुटवल उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद श्रेष्ठले जिल्ला नगरतर्फ ८ र एशोसिएट तर्फ २३ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए । जिल्ला नगरबाट ३० र एशोसिएटबाट जम्माजम्मी १ सय १२ मत रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्ष बाहेक बांकी पदमा भने यस अघि नै निर्विरोध चयन भएको थियो । समितिको दोस्रो अधिवेशनबाट दुई उपाध्यक्ष पदमध्ये जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदमा रोल्पा उद्योग वाणिज्य संघका बालकृष्ण सुवेदी र एशोसिएट तर्फको उपाध्यक्ष पदमा रोहिणी ईन्भेष्टमेन्ट प्राली रोहिणी रुपन्देहीका दिपक कुमार पौडेल निर्बरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा देउखुरी उद्योग वाणिज्य संघको तर्फबाट उम्मेदवारी दिएका रत्नप्रसाद श्रेष्ठ निर्बिरोध भए । कार्यकारिणी सदस्य तर्फ जिल्ला नगरबाट ५ सदस्य पदमा ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्रप्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) तथा दुई एशोसिएट सदस्यमा स्वर्गद्वारी मल्टिप्रपोज प्राली सुनवलका गोपाल प्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का चुनिएका हुन् ।