राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् । गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी हुन् । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।