नगरस्तरीय भलिबलमा कुंवरवर्ती र नवज्योतिलाई उपाधि

२७ पुष २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल । प्रथम तिलोत्तमा मावि स्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कूलमा सोमबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् । यस्तै छात्रातर्फको फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूललाई पराजित गर्दै नवज्योति बोर्डिङ स्कूल चार नम्बरले उपाधि जितेको छ । छात्र तथा छात्रा दुबैतर्फ फाइनलमा पुग्ने एक मात्र विद्यालय कुंवरवर्ती बनेको छ ।

छात्रातर्फ कुंवरवर्ती उपविजेता हुंदा सिद्धार्थ बोर्डिङ स्कूल तेस्रो भएको छ । विजयी टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी,नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य,तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । छात्र र छात्रा दुबैतर्फको उपाधि विजेता,उपविजेता र तेस्रो हुने टिमले क्रमशः नगद ३० हजार,२० हजार र १० हजार रुपैया प्राप्त गरेका छन् । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।

समापन समारोहमा छात्र तथा छात्रा दुबैतर्फ बेस्ट प्लेयर,बेस्ट सर्भर,बेस्ट स्पाइकर,बेस्ट डिफेन्स,बेस्ट ब्लकर,अनुशासित खेलाडी, उदियमान खेलाडी,उत्कृष्ट कोच,उत्कृष्ट टिम म्यानेजरलाई पुरस्कृत गरिएको कार्यक्रमका सञ्चालक एवं कुंवरवर्ती बोर्डिङ स्कूलका प्राचार्य दीपक खनालले बताए । यो प्रतियोगितामा उत्कृष्ट खेलेका खेलाडी मध्येबाट पहिलो चरणमा छात्र र छात्रा दुबैतर्फ १८ जनाका दरले छनोट गरी ती मध्येबाट १२ जना छनोट गरी तिलोत्तमा नगरपालिकाको जुनियर टिम बनाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया