प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदै

प्रकाशित मिति:

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरिससकेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ । प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा अर्का न्यायाधीश तोक्नु हुने सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भैसकेको छ ।