परम्परागत पेशाको संरक्षण गर्न सैनामैनामा आरनका आधुनिक उपकरण वितरण

प्रकाशित मिति:

परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले सैनामैना नगरपालिकाले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको हो । स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैनासहितका यहाँका कतिपय पालिकाले भने नमुना कामको थालनी गरेका छन् ।  परम्परागत प्रविधि र सीपलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने अभियान स्वरुप पहिलो चरणमा आरन पेशामा लागेर जीविकोपार्जन गरिरहेका समुदायलाई आधुनिक उपकरण प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।घरेलु प्रयोजन र कृषि औजारका साथै निर्माणकार्यमा प्रयोग हुने सामग्रीहरु उत्पादन हुँदै आएका परम्परागत कोइलाका आरनलाई आधुनिक उपकरण दिएर पेशाको प्रबद्र्धन गर्ने प्रयास गरिएको प्रमुख कार्कीको भनाइ छ । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका बेला पछिल्ला केही समय यता भने संरक्षणको अभियान सुरु भएको छ । सैनामैना नगरका ११ वटै वडामा रहेका आरन पेशा अंगालेका समुदायलाई सोही पेशाको सहायक हुनेगरि नयाँ उपकरण प्रदान गरिएको हो ।

पहिला हातले चलाउनुपर्ने आरन मेसिनलाई अब विजुलीबाट चलाउन सकिने छ । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि स्थानीय प्रविधिहरूको अस्तित्व हराउन थालेको गुनासा आइरहेका बेलामा यसखालको अभियान सुरु भएको हो । श्रमप्रति सामाजिक सम्मान बढाउने र नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गराउने उद्देश्यले उपकरण प्रदान गरेर हौसला बढाउने कोसिस गरिएको प्रमुख कार्कीले बताउनुभयो । जातीय पेशासँग जोडिएको श्रमप्रति सामाजिक सम्मान बढाउने र युवा पुस्तालाई त्यसमा पनि आकर्षित गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । घरेलु मेसिनको संरक्षणलाई प्राथमिकता दिने मात्रै होइन परम्परागत सीपलाई पुस्तामा हस्तान्तरण गरेर त्यसलाई अझ आधुनिक बनाउनुपर्ने खाँचो रहेको सैनामैनाका प्रमुख कार्कीको भनाइ छ । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ अहिले लगभग विस्थापित भइसकेका छन् । कतिपय गाउँमा आरन पेशामा रहेका समुदायमा पनि युवा पुस्ताको आकर्षण खासै छैन । यहीँ अवस्थालाई मध्यनजर गर्दै युवालाई पनि आकर्षित गर्ने र परम्परादेखिको सीपलाई पुस्तामा हस्तान्तरण गरेर आधुनिक बनाउन जरुरी रहेको छ । करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेको भन्दै कतिपय स्थानमा यसको संरक्षणको अभियान सुरु भएको छ । सैनामैनाले पहिलो चरणमा नगरका २४ जना आरन पेशा सञ्चालन गर्दै आएकालाई आधुनिक उपकरण प्रदान गरेको हो । मेसिन प्रदान गरेका समुदायले उत्पादन गरेका औजारको बजारिकरणका लागि पनि नगरपालिकाले सहयोग गर्नेगरि योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । सैनामैनाका आरन ब्यवसायको पराम्परागत पेशालाई आधुनिक दंगले अगाडी बढाउन सकुन भन्ने उद्धेश्यले आधुनिक उपकरण बितरण गरिएको सेतो गुरास बाल बिकास केन्द्रका प्रमुख सुमित्रा शर्माले बताउनु भयो ।

सैनामैना नगरपालिका र यूएडिपिको सहकार्य र सेतो गुरास बाल बिकास केन्द्रको समन्वयमा बुधबार नगरपालिकामा एक समारोहको आयोजना गरि ती उपकरण हस्तान्तरण गरिएको थियो । त्यसक्रममा सहभागी आरन पेशा अंगालेका समुदायका अगुवाहरुले आफुहरुको पेशाको सम्मान भएको र पेशा सञ्चालनमा समेत सहज हुने उपकरण पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
सैनामैना ८ निवासी दिपक रसाली गाउ घरको हसिया कोदालीमा धार लगाएर दैनिकी चलाउदै आएको तर स्रोत र साधनको अभावका कारण सोचे जस्तो काम गर्न नपाएको पेशा नै परिवर्तन गर्ने अवस्थामा सैनामैना नगरपालिकाले आरन ब्यवसायी लाई निशुल्क उपलब्द गराएको आधुनिक उपकरणको कारणले उत्साही भएको बताउनु भयो ।  आधुनिक उपकरण पाए पछि अब आरन ब्यवसायी गरेर नै आयआर्जन गरी दैनिकी चलाउने सैनामैना वार्ड नं १ का नर बहादुर बि.क ले बताउनु भयो । “बिगतमा साधन अभावले गर्दा खासै काम गर्न सकेका थिएनौ , जसले गर्दा खासै आम्दानी हुन सकेको थिएन अब भने नगरपालिकाले आधुनिक उपकरण दिए पछि सजिलै काम गरेर बाच्न सक्ने बातावरण भयो” आरन ब्यवसायी ओम बहादुर लोहारले भन्नुभयो । सैनामैना नगर भित्रका २४ जना आरन ब्यवसायीलाई करिब ३५ हजार मुल्य बराबरको आधुनिक आरनका उपकरणहरु बितरण गरिएको हो । आधुनिक आरनका उपकरण बितरण संगै प्राविधिक तालिम पनि दिईने योजना रहेको नगरपालिकाले जनाएको छ ।