होटेल पौवाले चखायो माघे संक्रान्तिका परिकार

प्रकाशित मिति:

होटेल पौवा प्रालिले आफ्ना ग्राहक र समाजका विभिन्न क्षेत्रका पाहुनालाई निःशुल्करुपमा माघे संक्रान्ति विशेष परिकारहरु चखाएको छ । पौवाका योगीकुटीसहित आठ वटै शाखामा खिचडी,तरुल, सखरखण्ड,सेल रोटी,घिउ, तिलको लड्डु, ढिकरी, अचार, दही लगायतका परिकारहरु खुवाइएको हो । योगीकुटी शाखामा मात्रै करिब चार सय जनालाई माघे संक्रान्तिमा खाइने परम्परागत परिकारहरु खुवाइएको होटेलको योगीकुटी शाखाका प्रबन्धक सौगात न्यौपानेले जानकारी दिए । ‘नेपालीहरुको मौलिक परम्परा र संस्कार जोगाइराख्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत माघे संक्रान्ति विशेष परिकारहरु पस्केका हौं’–न्यौपानेले भने–‘सबैबाट निकै राम्रो रेस्पोन्स र रचनात्मक सुझाव पनि पायौं ।’ आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा सहभागी सामाजिक÷राजनीतिक व्यक्तित्व यज्ञ गैरेले एउटा व्यवसायिक संस्थाले सबै शाखामा हजार जना बढीलाई परम्परागत र मौलिक परिकारहरु पस्केर दिनु नेपालको संस्कृति संरक्षणमा ठूलो योगदान भएको बताए ।