बाक्लो कुहिरो लागेपछि देशैभरका उडानहरु प्रभावित

प्रकाशित मिति:

राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा बादल सहित बाक्लो कुहिरो लागेपछि देशैभरका उडानहरु प्रभावित बनेका छन् । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । कुहिरो र न्युन भिजिबिलिटीका कारण उडान प्रभावित भएको हो । बादल र कुहिरो लागेसँगै मुलुकभर चिसो पनि बढेको छ । नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी भूभागमा सामान्य बदली हुने छ । तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।