चुनाव गर्नुको विकल्प छैन : मन्त्रि रायमाझी

प्रकाशित मिति:

उर्जा तथा जलश्रोत मन्त्रि टोपबहादुर रायमाझीले आफुले बाध्यात्मक स्थितीमा मन्त्रिको जिम्मेवारी लिएको बताएका छन् । रिपोर्टस क्लब लुम्बिनी प्रदेशले शुक्रवार गरेको साक्षातकारमा बोल्दै उनले सबैले सरकार छोडेर सडकमा जांदा देश अस्थिरता तर्फ धकेलिने डर भएकाले आफु सरकारमै रहेर देश बचाउनेतर्फ अग्रसर भएको बताए । ‘हुंदाखांदाको सरकार ढालेर सडकमा जानु गलत हो, उनले भने, सहज अवस्थामा सबै सहभागि हुने, ‘आफुले छोड्दा सरकारलाई एक्ल्याएर हिंड्नु बेइमानी हो ।’ देशमा विकास र सम्वृद्धिको लागि कसै न कसैले जिम्मा लिनुपर्ने भएकाले आफु सरकारकै पक्षमा रहेको रायमाझीले बताए । उनले संसद पुन ः स्थापनाको सम्भावना नरहेको भन्दै चुनावी प्रकृया नै अन्तिम विकल्प भएको जनाए । ३ वर्षसम्म केपी शर्मा ओलीको नेतृत्व स्विकारेका नेताले आफु बसेको घरमै आगो लगाएर हिंडेको रायमाझीको भनाई छ । देशको व्यवस्था र उपलब्धि बचाउनका लागि सरकारमा रहेर जिम्मेवारी लिएको उनले बताए ।

अन्तरविरोध चर्केर गइरहेका बेला चुनौतीसंगै चुनावी प्रकृयामा जाने तयारी गर्नुपर्ने रायमाझीको भनाई छ । मन्त्रि रायमाझीले संसद विघठनमा सरकार पक्ष र प्रतिपक्षको मिलेमतो रहेको विषय सांचो नभएको बताए । सरकारी पार्टी बीचकै अन्तर द्धन्दले संसद विघठन भएको भन्दै उनले विवादकै कारण जनादेशमा जाने निर्णय भएको प्रष्ट्याए । उर्जा क्षेत्र र सडकमा लगानी गर्नका लागि आएको एमसिसिको प्रस्तावमा छलफल गरेर निचोडमा पुग्नुपर्ने मन्त्रि रायमाझीले बताए । विदेशी लगानीमा देशको विपरित जाने प्रावधान भएमा त्यसलाई सच्याएर लागु गर्ने वा यसलाई ढिला नगरी खारेज गरेर अघि बढ्नु उत्तम रहेको बताए । एमसिसिका विषयमा सरकार मात्रै नभई राजनितीक दलले सहकार्य गरेर निचोड निकाल्नुपर्ने उनले बताए । एमसिसि बहसका लागि मुख्य विषय बनिरहेकाले यसको समस्या समाधानमा एक दिन पनि ढिलाई गर्न नहुने उनी बताउंछन् । मन्त्रि रायमाझीले एमसिसिमा झुण्डिएर बस्नुभन्दा सरकारी लगानी वा अन्य श्रोत खोजेर आवश्यकता पुरा गर्नुपर्ने भन्दै यसमा गृहकार्य गरिरहेको उनले बताए ।