माघ ११ देखि सेयर कारोबारको राफसाफ दुई दिनमै

प्रकाशित मिति:

सेयर कारोबारपछिको राफसाफमा अब ‘टी प्लस टु’ लागू गरिने भएको छ। सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो। यसमा टीको अर्थ ट्रान्जेक्सन र टुको अर्थ दुई हुन्छ। अर्थात सेयर कारोबार भएको दिनपछिको अर्को दुई दिनभित्र राफसाफ हुनेछ।

सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यका अनुसार ब्रोकर कम्पनीहरुले माघ ११ गतेदेखि नै टी प्लस टु लागू गर्न सुझाव दिएका छन्। संभवत त्यही मितिबाट लागू गर्नेगरी संचालक समितिले निर्णय गर्ने उनले बताए। ‘उहाँहरुले माघ ११ देखि लागू गर्न सुझाव दिनुभएको छ, हाम्रो संचालक समितिको बैठक आइतबार बस्दैछ, समितिमा यसबारे छलफल हुन्छ, संभवत ११ गतेदेखि नै लागू गर्छौं’ सेतोपाटीसँगको कुराकानीमा आचार्यले भने।

हालसम्म सेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ। अर्थात कारोबार भएको दिनपछिको तीन दिनभित्र मात्रै राफसाफ हुँदै आएको छ।सेयर कारोबार हुँदा किन्ने र बेच्नेबीच एक किसिमको करार सिर्जना हुन्छ। सो करार कार्यान्वयन हुनु नै राफसाफ हो। राफसाफभएपछि मात्रै सेयर बेच्नेको बैंक खातामा पैसा जम्मा हुन्छ भने किन्नेको डिम्याट खातामा सेयर जम्मा हुन्छ।  टी प्लस टु लागू भएपछि सेयर कारोबारमा थप उत्साह थपिने लगानीकर्ताको विश्वास छ।