नाममात्रका कम्युनिष्ट सत्ताधारीसंग कहिल्यै एकता हुन्न – वैद्य

प्रकाशित मिति:

कात्तिक ३०/ नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सरकारमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग कहिल्यै पनि एकता हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘विचार मिल्ने कम्युनिष्टसंग एकता हुने हो सत्ताधारी नेकपा नाममात्रले कम्युनिष्ट हो व्यवहारले हैन ।’ उनले पहिले एउटै पार्टीमा भए पनि समय फेरिएको भन्दै अहिले उनीहरु कम्युनिष्ट नै नभएको दावी गरे । भने, ‘कम्युनिष्ट भए पो एकता गर्ने त ।’

उनले विचार मिल्ने कम्युनिष्टहरु कसैसंग कार्यगत एकता र कसैसंग पार्टीगत एकता हुन सक्ने जनाए । तत्काल भने कुनै पनि पार्टीसंग एकताको चर्चा नभएको उनले बताए । केपी शर्मा ओली नेतृत्वको सरकार कम्युनिष्टको नभएको दावी गर्दै उनले कहिल्यै पनि आफूहरुको समर्थन नरहने बताए । ‘बामबाट अलग छौं’ भनेर खुलेआम भनिसकेकाले अब केपी शर्मा ओली र पुष्पकमल दाहालसंग एकता नहुने पनि बताए ।

के गर्दैछ त क्रान्तिकारी माओवादी ?

क्रान्तिकारी माओवादी मंसिर दोस्रो सातादेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीमा रहेको छ । वैद्यले यो वर्षको दुई पटक बस्ने भएकाले नियमित प्रक्रिया जस्तै भएको बताए । उनले बैठकमा विगतका कामको समीक्षा र अबको रणनीतिबारे कुराकानी हुने बताए । उनले यही बैठकबाटै पार्टीले संघर्षका कार्यक्रमहरु अगाडि बढाउने स्पष्ट पारे ।