बुटवलबाट सुरु भयो तिनाउ नदी सरसफाइ महाअभियान

प्रकाशित मिति:

बुटवल – लुम्बिनी प्रदेशको मुख्य नदी तिनाउ नदीको सभ्यता जोगाउन र स्वच्छ बनाउन तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ । आदिमानव रामापिथेकसको बङ्गारा भेटिएको नदी किनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन सो अभियान सुरु गरिएको हो ।

सरसफाइ कार्यक्रममा उपस्थित मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले नदीको सभ्यतासँग मानवीय विकासको सभ्यता जोडिएकाले बढ्दो प्रदूषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदीहरुको सरसफाइ गर्न जरुरी रहेको बताए ।

उनले विश्वभर प्रदूषण बढिरहेको र यसले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएकोतर्फ जोड दिदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्ने बताए ।

नेपाल प्राद्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसीलगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिसहरु लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जलचर प्राणीहरुको बाँच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान सञ्चालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताइन ।

नदिजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाँच्न पाउने अधिकारसँगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यस अभियान चलाइएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसयोजक डीपी खनालले जानकारी दिए ।

नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटललगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।