नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा सवा १५ लाखले गरे आवेदन

प्रकाशित मिति:

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ अन्तिम दिन मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २६ हजार बढी आवेदकबाट २:३९ गुणा धेरै कित्ता शेयर माग भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ७ अर्ब ५८ करोडको आईपीओमा मंगलबार साँझ ६ बजेसम्ममा १८ अर्ब ९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मेरो शेयरमा प्राविधिक समस्या आएपछि मंगलबार आईपीऋो आवेदनको लागि एक घण्टा समय थप गरिएको थियो । बैंकको आईपीओमा १५ लाख २६ हजार ५२७ वटा आवेदन मार्फत १८ करोड ९ लाख ८५ हजार ८०० कित्ताको लागि माग परेको क्यापिटलले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको सि आश्वा प्रणालीबाट अझै आवेदन आउने क्रम रहेकाले आवेदन संख्या अझै बढ्ने जनाइएको छ ।

कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०:२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओलाई नागरिक लगानी कोषले आईपीओ प्रत्याभूती अण्डरराइट गरेको छ ।बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर आईपीओ हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य० हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो । बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।