प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर आज पनि सुनुवाइ हुने

प्रकाशित मिति:

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा जारी सुनुवाइ आज पनि हुने भएको छ । मंगलबार तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै स्थगित भएपछि आजका लागि पनि निरन्तरता पाउने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने गरेपछि विषयकेन्द्रित बहस प्रारम्भ भएको थियो । जसअनुसार मंगलबार पाँच अधिवक्ताहरुले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राखे । उनले मंगलबारको बहस सुरु मात्र गरेका थिए ।

उनले आज पुनः बहस गर्दैछन । अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नदिएको तर्क प्रस्तुत गरे । अधिवक्ता हर्क बहादुर रावलले प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई सहयोग गरेको अवस्थामा उनले विघटन गर्न नपाउने तर्क राखे । अधिवक्ता शिव कुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर गरे । अधिवक्ता शेरबहादुर ढुङ्गानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविपरित भएको विघटन बदर गरी पुनःस्थापना हुनुपर्ने तर्क गरे । रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट उनीहरुले बहस गरेका हुन् । रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा दर्ता गरेका छन् ।