७२ विद्यालयमा व्यवस्थापन समिति बन्दै

प्रकाशित मिति:

एकै दिन, एकै पटक चुनिदै समिति

वालिङ नगरपालिकाले माघ ९ गते नगर भित्र रहेका सामुदायीक विद्यालयमा व्यवस्थापन समिति चयन गर्दै छ । एकै दिन एकै पटक नगर भित्र रहेका ७२ ओटा आधारभुत र मावि विद्यालयमा व्यवस्थापन समिति चयन गर्न लागेको हो । ३ बर्षे कार्यकालका लागि वालिङ नगरपालिका अन्तर्गत शिक्षा शाखाकाले विद्यालय व्यवस्थापन समिति चयन गर्नका लागि तयारी भएको जनाएको छ । ९ गते हुने अभिभावक भेलाले २ जना महिला सहित ४ जना चुन्ने छन् । जसका लागि वालिङ नगर शिक्षा शाखाले छनोट सहयोग समिति समेत निर्माण गरिसकेको शिक्षा शाखा प्रमुख तथा उपसचिव बावुराम सापकोटाले बताए । ७२ जना कर्मचारीलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिमुखीकरण तालिम समेत दिएको शिक्षा शाखा प्रमुख सापकोटाले बताए ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि प्रावि, निमावि र मावि स्तरमा छुट्टाएर प्रक्रिया अगाडी बढाईएको कार्यालयले जनाएको छ । विद्यालयमा राजनीति मुक्तक्षेत्र होस भन्ने उदेश्यले एकै पटक विद्यालय समिति चयन गर्न लागिएको हो शिक्षा शाखा प्रमुख सापकोटाले भने,‘समितिको एकरुपता र स्वतन्त्र ढंगले चयन गर्नका लागि यो अभ्यास शुरु गरिएको हो ।’ वालिङ नगरपालिकाले शुरु गरेको यो अभ्यास नेपालभरी नै पहिलो हो सापकोटाले भने । विद्यालय व्यवस्थापन समिति ९ जनाको हुनेछ । अभिभावक भेलाले ४ जना चुन्ने र ४ जनाले बुद्धिजिवी, चन्दादाता, संस्थापक, शिक्षाप्रेमी मध्येबाट २ जना चुन्ने प्रावधान रहेको छ । ३ जना वडा शिक्षा समिति, विद्यालय प्रधानाध्याप र शिक्षक नायक पदेन सदस्य रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । माघ ९ गते एकै पटक हुने विद्यालय समिति चयनमा १ सय ४४ जना प्रतिनिधि चुनिने छन् । वालिङ नगर भित्र १६ मावि, ८ निमावि र ४८ प्रावि सामुदायीक विद्यालय रहेका छन् ।