प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ

प्रकाशित मिति:

काठमाडौं– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले ओलीको सेटिङलाई भत्काएर जनताको पक्षमा सेटिङ खडा हुने बताएका छन् ।शुक्रबार उनी निकट विरोध सभामा सम्बोधन गर्दै प्रचण्डले सरकार विरुद्ध उठेको जनसागरले त्यसको प्रमाणित भएको बताए । ‘ओली र उनका मान्छेको सेटिङलाई जनताको ताकतले भत्काएर जनताको पक्षमा नयाँ सेटिङ खडा हुन्छ भन्ने विश्वास छ ।’ उनले भने, ‘ प्रतिगमनका विरुद्ध उठेको जनसागरले जनताको पक्षमा सेटिङ खडा गरेको प्रमाणित भएको छ । जनताको सेटिङलाई कसैले भत्काउन सक्दैन ।’

उनले आफूहरू अदालत प्रति भरोसा राखेको दोहोर्याउँदै जनताको खबरदारीले अदालत र निर्वाचन आयोगलाई गलत निर्णय गर्न नदिने स्पष्ट पारे । उनले भने, ‘हामीले अदालत र निर्वाचन आयोग प्रति भरोसा गरेका छौं । आज उर्लेको यो जनसागरलाई अदालत र निर्वाचन आयोगले राम्रैसँग देखेको छ । किनकी यसले जनभावना के छ भन्ने देखाएको छ , यो पनि निर्णय गर्न सहयोग पुर्याउने एउटा तत्व हो ।उनले सत्ता पाउनको लागि ओलीले जे पनि सहमति गर्ने तर सत्ता पाए पछि केही पनि कार्यान्वयन नगर्ने गरेको आरोप लगाए । ‘हामीले त्यसका विरुद्ध बहस र संघर्ष गरेकै थियौं तर गएको तीन वर्षमा केपीलाई हामीले तह लगाउन सकेनौं । कतिपय उहाँका कुरा मान्दिए ठिक हुन्छ कि भनेर पहल गरे पनि उनलाई ठिक गर्न सकिएन ।’ उनले भने ।

प्रचण्डले ओली प्रवृत्तिलाई जानेर नजानेर संरक्षण गरिएको भन्दै आत्मआलोचना गरे । ‘आज आएर केपी ओलीले पार्टीको विधान मात्रै नमान्ने होइन देशको संविधान नै नमान्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने र विध्वशं तिर जाने जुन काम भयो ।’ उनले भने, ‘ अब केपी ओली प्रवृत्तिलाई संरक्षण गर्ने भुल गर्ने छैनौं । हाम्रो उदारतालाई कमजोरी ठानेर केपीले जुन दुस्साहस गरेका छन् अन्नत हामी जनताका अगाडि आउन बाध्य भयौं ।’उनले ओलीले पूर्व प्रधानन्याधीश र पत्रकारहरुलाई समेत गाली र धम्की दिएको आरोप लगाए । ‘कर्मचारी, पेशाकर्मीहरू जो जुलुसमा गएका छन् तिनको रेकर्ड राखेर कारवाही गर्ने रे ’ उनले चुनौती दिँदै भने, ‘कारवाही गरेर देखाउ, एउटालाई छोएर देखाउ , कर्मचारी साथीहरु जसरी गणतन्त्रको आन्दोलनमा साथ दिनुभयो, तपाईहरु नडराउनुस्, तपाईको छिसिक्क रौं मात्रै हल्लिए पनि त्यसको संरक्षण हामी गर्छौं ।’

उनले कारवाही कर्मचारीलाई हैन भोली जनताको सरकारले ओली र उनका पछि लाग्नेलाई गर्ने बताए । उनले भने, ‘हामी हिसाव राख्छौं, केपीले राखेको हिसाव मिल्नेवाला छैन ।’उनले केपी ओली आफूलाई सिद्धाउने मिसनमा लागेको आरोप लगाए । ‘उनको मिसन एक मात्र अपराधी प्रचण्ड हो , जोसँग मिलेर होस् यसलाई सिद्धाउनुपर्छ भन्ने षडयन्त्र भैरहेको छ ।’ प्रचण्डले भने ।उनले जनता साथमा भइसके पछि इतिहासमा कुनै पनि ताकतले हराउन नसक्ने बताउँदै ओलीले आन्दोलन र परिवर्तन देख्न नसक्ने आरोप लगाए । उनले भने, ‘आन्दोलन हुँदा ओली रोएर बस्नुहुन्छ, उहाँ गणतन्त्रका आन्दोलन हुनुहुन्न भनेर नोट अफ डिसेन्ट लेख्ने मान्छे हो । उहाँ आन्दोलन भयो कि त्यसको विरुद्ध खडा हुुनुहुन्छ । संविधान आइसियूमा छ तर उहाँ रमाएर हास्दै प्रहसन गर्दै हिँड्नु भएको छ । ’