युवराज ज्ञवाली भन्छन् : अदालतले संविधान संशोधन र ‘सन्काहा’को निर्णय सदर गर्ने हैन

प्रकाशित मिति:

१० माघ,बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी भन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिष्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याई छ । उनलाई पार्टीले अध्यक्षबाट हटाइसकेकाले पुनः उनलाई नेतृत्वमा ल्याउन सम्भव नभएको प्रष्ट पारेका हुन् । प्रचण्ड–माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेको बताए । ‘प्रतिनिधि सभा विघटन गरेर ओलीले एकैपटक कम्युनिष्ट पार्टी,गणतन्त्र र राष्ट्रियतामाथि ठूलो प्रहार गरेका छन्’–ज्ञवालीले भने–‘ओलीको कदम केशरजंग रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती छ ।

’ केशरजंग रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका तर ओलीले आफै प्रतिगमन गरेर गणतन्त्र समाप्त पार्ने र रायमाझीले भन्दा अझ बढी क्षति पु¥याउन खोजेको ज्ञवालीले औंल्याए । प्रतिनिधिसभा विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरे । राष्ट्रवादको नारा लगाउंदैमा र अर्को देशलाई गाली गर्दैमा राष्ट्रवादी नभइने भन्दै ज्ञवालीले संसद विघटन गर्ने ओलीको निर्णयले राष्ट्रियतालाई कमजोर बनाएको बताए । ‘ओली कम्युनिष्ट पनि होइनन्, राष्ट्रवादी पनि होइनन्’–उनले भने–‘वर्षौंदेखि सच्याउन खोजेका हौं,उनलाई सच्याउन सकेनौं तर कम्युनिष्ट पार्टी जोगिएको छ ।’ आफ्नो समूहले काठमाडौंमा शुक्रबार गरेको प्रदर्शन शुरुवात मात्र भएको र त्यसले संसद विघटन गर्ने प्रतिगामी कदम विरुद्ध व्यापक जनसमर्थन रहेको पुष्टी गरेको तर्क उनले गरे । यसपछि अझ ठूला प्रदर्शनलाई निरन्तरता दिने उल्लेख गर्दै ज्ञवालीले ओलीको अस्तित्व केही महिना मात्र भएको जिकिर गरे ।

अदालतले संविधान संशोधन गर्ने हैन संसद विघटनसम्बन्धी मुद्दामाथि अदालतमा भइरहेको वहसबारे संकेत गर्दै नेता ज्ञवालीले अदालतको काम संविधान संशोधन गर्ने नभएको तर्क गरे । संविधानमा वहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नगरेको ज्ञवालीले स्मरण गराए । ‘अदालतले संविधानमा लेखिएका कुराको मात्रै व्याख्या र फैसला गर्ने हो, संशोधन गर्ने हैन’–उनले भने–‘संविधान संशोधन संसदले मात्र गर्न सक्छ, त्यसैले अदालतले फैसला गर्दा जनमत के छ ? संविधानले के भन्छ त्यो हेरेर फैसला गर्ने हो, सन्काहा व्यक्तिको निर्णयलाई सदर गर्ने होइन ।’  केन्द्रीय सदस्य १२ हजार बनाउन सक्छौं, निर्वाचन आयोगले मान्छ त ?  नेता ज्ञवालीले पार्टीको केन्द्रीय समितिदेखि सबै निकायमा आफ्नो समूह स्पष्ट वहुमतमा रहेकाले निर्वाचन आयोगलाई अलमलमा नपर्न आग्रह गरेका छन् । ‘हामी पार्टीका सबै निकायमा वहुमतमा छौं,आधिकारिक पार्टी हामी नै हौं, ओली पक्ष एउटा सानो गुट मात्र हो’–ज्ञवालीले प्रश्न गर्दै भने–‘४ सय जना केन्द्रीय सदस्य मध्ये सय जना बसेर १२ सय जना मनोनित गर्दैमा वहुमत भन्न मिल्छ, त्यसो हो भने हामी १२ हजार जनालाई केन्द्रीय सदस्य बनाउन सक्छौं, निर्वाचन आयोगले मान्छ त ?

अब ‘नो ओली’ – प्रतिनिधि सभा पुनःस्थापनापछि पार्टी एकता जोगिन्छ भन्ने अन्य नेताहरुको भनाईका बारेमा पत्रकारले सोधेको प्रश्नमा तत्कालीन एमाले उपाध्यक्ष रहेका नेता ज्ञवालीले ओलीलाई शीर्ष नेतृत्वमा राखेर गरिने एकता अब कदापी स्वीकार्य नहुने प्रष्टिकरण दिएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले एक साथ संविधान, गणतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियता सिध्याउन खोजेकाले अब ओलीको नेतृत्वमा फेरि पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे । ‘धेरै राम्रा साथीहरु पनि पद र अवसरको लोभ लगायत विभिन्न कारणले उता जानु भएको छ,ढिलो चांडो उहांहरु आउने यतै हो’–ज्ञवालीले भने–‘अरु सबैलाई वेलकम छ तर ओलीलाई ठाउं छैन, नो ओली ।’ ओलीले संसद विघटन गरेर गल्ती गरें भनेर माफी मागेको अवस्थामा पार्टी सदस्यता दिने बारे पछि सोच्न सकिने उनले बताए ।

माघ १५ गते बुटवलमा शक्ति प्रदर्शन- संसद विघटनपछि सडक आन्दोलनमा रहेको सो समूहले माघ १५ गते बुटवलको पुष्पलालपार्कमा शक्ति प्रदर्शन सहित विरोध सभा गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । संघर्ष समितिका संयोजक पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान च्यातेर प्रतिगमन र निरंकुशता लाद्ने कामको शुरुवात भएकाले संविधान र लोकतान्त्रिक गणतन्त्र जोगाउन वाध्य भएर सडक आन्दोलनमा आउनुपरेको बताए । विगतमा पनि प्रतिगमन र निरंकुशताविरुद्धका आन्दोलनमा नागरिक समाज र मिडियाको साथ रहेको स्मरण गर्दै यो आन्दोलनलाई प्रचण्ड – माधव पक्षको मात्रै आन्दोलनका रुपमा नबुझ्न आग्रह गरे । सभालाई आफ्नो समूहका अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल,नेता घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा नेता राजु गुरुङले जानकारी दिए । सो दिन राजमार्ग चौराहा, गोलपार्क, तिनाउ पारी र गोलपार्क गरी चार स्थानबाट जुलुस आएर पुष्पलालपार्कमा विरोधसभा हुने उनले जानकारी दिए ।