लुम्बिनी निर्माण व्यवसायीले बनाए ४५ लाखमा दुईतले भवन

प्रकाशित मिति:

भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले ४५ लाखको लागतमा दुईतले भवन निर्माण गरि आज भवनको उद्घाटन गरेको छ । रुपन्देहीका निर्माण व्यवसायीहरुको साझा संस्था लुम्बिनी निर्माण व्यवसायी संघले कोषको पैसा खर्च नगरी व्यक्तिगत रुपमा लगानी गरेर उक्त भवन निर्माण गरेको संघका अध्यक्ष विनय ज्ञवालीले बताए ।

भवनको भूँइतला र पहिलो तला गरी २ हजार २ सय स्क्वायरफिटको रहेको छ । संस्था सञ्चालन गर्न आर्थिक उपार्जनको गतिलो बाटो रहेको भन्दै उक्त भवन निर्माण गरेको र उठ्ने भाडाबाट कर्मचारीलाई तलबको व्यवस्था गर्न सहज हुने अध्यक्ष ज्ञवालीले बताए । भूइँतलामा रहेको ४ ओटा सटर होटल तथा किराना पसललाई दिने र माथिल्लो तलाका कोठाहरु कानून व्यवसायीहरुले दिने निर्णय संस्थाले गरिसकेको छ अध्यक्ष ज्ञवालीले भने ।

भवनको उद्घाटन गर्दै निर्माण व्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहले संस्थाले उल्लेख्य प्रगति गरेको बताउँदै व्यवसायीको हक र अधिकारलाई सुरक्षित गर्न निरन्तर लागि रहने बताए । राज्यले निर्माण व्यवसायीलाई हेर्ने दृष्टि नकरात्मक रहेकोले सत्य, तथ्य र वास्तविकता बुझ्ने कार्यमा सरकार लागनु पर्ने अध्यक्ष सिंहले बताए ।