बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा

प्रकाशित मिति:

बुटवलमा एउटै छातामुनी ग्रोसरी, शैक्षिक सामग्री र खेल तथा फर्निसिङका सामाग्री पाइने पसल संचालनमा आएको छ । बुटवल
८ मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालीले अन्नपूर्ण हाइपर मार्केटसँग साझेदारी गर्दै कारोबार वृद्धि गरेको छ ।  मार्ट संचालनका सम्बन्धमा शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मार्ट संचालकले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर व्यवसाय संचालन गरिने जानकारी गराएका छन् ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३ वटा फरक फरक तह बनाएर संचालन गरिने मार्टमा पहिलो तलामा ग्रोसरीसहित फलफूल तराकरी तथा माछा, मासुजन्य सामाग्रहीहरु उपलब्ध हुनेछन् । दोस्रो तलामा शैक्षिक सामाग्रीका सम्पूर्ण भेराईटीहरु उपलब्ध हुनेछन् । तेस्रो तलामा खेल सामाग्री, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु उपलब्ध हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले विश्व बजारमा देखिएको मार्ट प्रतिको आकर्षणलाई दृष्टिगत गर्दै आफहरुले पनि अत्याधुनिक मार्ट खोल्न थालेको बताए । उपाध्यायाले एउटै छातामुनी सबै सामाग्री पाइने र ठूलो परिमाणमा खरिद बिक्रि समेत हुने भएकाले मार्टबाट उपभोक्ताले सस्तो मुल्यमा सामान पाउने विश्वास व्यक्त गरे ।अन्नपूर्ण हाइपर मार्केटिङका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले मार्टले सामान्य रिक्सा चालकदेखि उच्च घरानाका उपभोक्ताको समेत आवश्यकता पुरा गर्ने लक्ष्य राखेको बताए । पाठकका अनुसार मार्टको प्राथमिकतामा स्वदेशी उत्पादन, लघु घरेलु उत्पादन र त्यसमा पनि स्थानीय उत्पादन रहनेछन् । नेपालमा उत्पादन नभएका माल वस्तुको हकमा भने विदेशी उत्पादन पनि मार्टमा उपलब्ध हुने उनले जानकारी दिए ।मार्ट संचालनका लागि डेल्टा एजुकेशन मार्टले ३४ करोड लगानी गरेको छ । यस्तै अन्नपूर्ण हाइपरले ५ करोड लगानी गरेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्यका साथ मार्ट संचालन गरिएको संचालकहरुले बताएका छन् ।