गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण

प्रकाशित मिति:

साधना न्यौपाने , १० माघ, गल्याङ, स्याङ्जा । स्याङ्जा गल्याङमा अवस्थित गल्याङ जेसिजले एक भव्य गरि शुक्रबार आफ्नो दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संविधान सभा सदस्य राजु थापाले, राजनीति विधिको शासन, समृद्ध समाज निर्माण र मानव सभ्यताको निम्ति हुनुपर्छ भन्दै विश्वलाई गौतम बुद्धले दिएको सन्देश अनुरुप विश्वशान्तिको प्राप्तिको लागि काम गर्नुपर्नेमा जोड दिए ।

युवा नेता गुरु प्रसाद भट्टराईले जेसिजले वकालत गर्ने विधिको शासनको कुरा वर्तमान राजनैतिक परिवेशमा महत्त्वपूर्ण रहेको कुरा बताए ।उनले राजनैतिक एवम् सामाजिक संस्थाहरुले जेसिजको आस्था अनुरुप काम गरे छिटै देश रुपान्तरण हुने बताए । नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंले निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको रूपमा गल्याङ जेसिजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गल्याङ १०का वडा अध्यक्ष तथा मातृशाखा वालिङ् जेसिजका सल्लाहकार ध्रुव पंगेनीले जेसिजले आत्मसात गरेको विधीको शासन महत्त्वपूर्ण रहेको बताए । भिरकोट ५ का वडा अध्यक्ष एवम् मातृशाखा वालिङका पुर्व अध्यक्ष लक्ष्मण अधिकारीले गल्याङ जेसिजले विषम परिस्थितिमा समेत उल्लेखनीय कार्य गरेको कुरा बताए ।

मातृशाखा वालिङ जेसिज वर्ष २०२०का अध्यक्ष होमकान्त गौतमले गल्याङ जेसिजले वर्ष २०२०मा उत्कृष्ट शाखाको संमान प्राप्त गरेको भन्दै प्रसंशा गरे । नेपाल जेसिज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारीले जेसिजको उदेश्य अनुरुप काम गर्न गल्याङ जेसिजलाई शुभकामना दिए । कार्यक्रममा गल्याङ जेसिजका संस्थापक अध्यक्ष शिव प्रसाद खनाल, भिरकोट जेसिज वर्ष २०२०का अध्यक्ष मिना खाँड, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष चन्द्रमणि पौडेल , गल्याङ उद्योग बाणिज्य संघका उपाध्यक्ष बाबुराम पाण्डे, गल्याङ च्याम्बर अफ कमर्सका अध्यक्ष गंगा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा २०२०का अध्यक्ष दर्बेन्द्र देब खनालको गलामा रहेको चाँदीको माला संस्थापक अध्यक्ष शिव प्रसाद खनाल र मातृशाखा वालिङका अध्यक्ष होमकान्त गौतमले २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मीको गलामा लगाइदिएका थिए । नव नियुक्त अध्यक्षलाई वर्ष २०२० का अध्यक्ष दर्वेन्द्र देव खनालले सपथ खुवाएका थिए । बर्ष २०२० का अध्यक्ष दर्बेन्द्र देब खनालले सामाजिक कामप्रतिको आफ्नो भोक अझै नमरेको र थप उल्लेख्य कार्य गर्ने कुरा बताए । वर्ष २०२१ का लागि पदग्रहण गरेका गोपिकृष्ण रेग्मीले आफुले वर्ष भरी गर्न चाहेका कार्यक्रम सार्वजनिक गरेका थिए।उनले कानुनी सल्लाहकारमा खगेन्द्र भण्डारी, महासचिवमा ऋषी बस्याललाइ र कोषाध्यक्षमा साधना न्यौपानेलाई मनोनीत गरेका थिए । कार्यक्रममा “उत्कृष्ट संचारकर्मी सम्मान” द्वारा लक्ष्मी टेलिभिजनका अध्यक्ष दधिराम पाण्डेलाई सम्मान गरिएको थियोे । त्यसैगरी उत्कृष्ट पदाधिकारी पुरस्कारद्वारा महासचिव खगेन्द्र भण्डारीलाई र उत्कृष्ट मनोनीत पदाधिकारी पुरस्कारद्वारा अध्यक्षीय सल्लाहकार प्रतिमा भट्टराईलाई प्रदान गरिएको थियोे ।

कार्यक्रम संयोजक प्रकाश भुषालको स्वागतसंगै शुरूवात भएको कार्यक्रमको संचालन महासचिव खगेन्द्र भण्डारीले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम संचालन वर्ष २०२१का महासचिव ऋषी बस्यालले गरेका थिए । पहिलो चरणको कार्यक्रमको अध्यक्षता वर्ष २०२०का अध्यक्ष दर्बेन्द्र देब खनाल र दोस्रो चरणको कार्यक्रम वर्ष २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मीले गरेका थिए । विश्व भरिका युवाहरूको अग्रणी संस्था जेसिआईले परिवर्तित विश्वको लागि नेतृत्व तयार गर्ने कार्य गरि विधिको शासन, युवाहरुको सकारात्मक परिवर्तन, उद्धमशिलता, सामुदायिक विकाश एवम् विश्वशान्तिको प्राप्तिको लागि कार्य गरिरहेको छ । संयुक्त राष्ट्र संघ द्वारा अघि बढाईएका दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिको लागि समेत यस संस्थाले कार्य गरिरहेको छ ।@hmdut