गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन

प्रकाशित मिति:

१० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।’

नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिकरुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पुँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभइ विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादन मूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए । विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उनको भनाइ थियो ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिए ।विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताए । उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आव्हान गरे । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए ।कार्यक्रममा शुभकानमा मन्तव्य दिनु हुँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिकरुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए । महाधिवेशनमा संघका सल्लाहकारहरु कूल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा। बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिए ।

भर्चुअलरुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा। हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।