महिला भलिबलको उपाधि कुंवरवर्तीलाई

प्रकाशित मिति:

सबलपोष्ट -बुटवल, ११ माघ । रुपन्देहीको तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८ को कुंवरवर्ति इङ्लिस बोर्डिङ स्कूलले जितेको छ । योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आइतबार भएको फाइनल खेलमा एभरेष्ट माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै कुंवरवर्तीले उपाधि चुमेको हो । कुंवरवर्तीलाई उपाधि दिलाउन अलराउण्डर ओपन स्पाइकर भावना डांगीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत उनले फाइनल खेलका तीन सेटमा एक्लै २५ अंक जोड्न सफल भएकी थिइन् । गत वर्ष पनि कुंवरवर्तीले उपाधि जितेको कुंवरवर्तीले थियो ।रनिङ शिल्ड प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो ।

११ टिमको सहभागिता रहेको प्रतियोगितामा बुटवलको एभरेष्ट मावि (रातो) उपविजेता बनेको छ भने एभरेस्ट मावि (सेतो) ले तेस्रो स्थानमा चित्त बुझाएको छ । न्यु होराइजन मावि बुटवल सान्त्वना भएको छ । प्रतियोगितामा बेष्ट स्पाइकर कुवरवर्तिकी शर्मिला नेपाली, बेष्ट डिफेन्स कुवरवर्तिकी मोनिका विष्ट,बेष्ट सटर एभरेस्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेस्टकी निर्भा सारु, बेष्ट ब्लकर एभरेस्टकी बबिता बिसी, उदियमान खेलाडीमा सिद्धार्थ माविकी एलिना चौधरी, अनुशासित खेलाडीमा न्यु होराइजनकी रश्मि पुन तथा उत्कृष्ट प्रशिक्षकमा कुंवरवर्तीका मिलन राना पुरस्कृत भए । विजेता,उपविजेता,तेस्रो र सान्त्वना टिमले क्रमशः ५५ हजार,३५ हजार, २० हजार र १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा रोल्पामा सम्पन्न प्रादेशिक रेफ्री तालिममा सहभागी ५३ जना मध्ये सर्वोत्कृष्ट भएका मणिमुकुन्द भलिबल क्लबका प्रकाश थाल मगरसहित पांच जनालाई सम्मान गरिएको नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए । प्रतियोगिताको समापन कार्यक्रम तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष मिलन रानाको स्वागत र कुंवरवर्ती इङलिस बोर्डिङ स्कूलका प्राचार्य समेत रहेका नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।