प्रधानमन्त्री ओलीद्वारा नेपालकै दोस्रो लामो पुलको उद्घाटन

प्रकाशित मिति:

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै प्रतिकुलताको विचपनि देशमा विकासनिर्माणका काम भईरहेको र देश अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
देशमा सुशासन र विकास ल्याउनकै लागि विकासको लहर चलाईएको दावी गर्नुभयो । कोरोना महामारीका विचमा पनि विकास निर्माणका काम नरोकिएको भन्दै उहांले गतिलो उदाहरण राप्ती पुल पनि भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राप्तीमा तटबन्ध गरी यहां विकासका धेरै काम गर्न सकिने भन्दै अब सरकारको ध्यान त्यतातिर केन्द्रित हुने बताउनुभयो । उहांले लुम्बिनी प्रदेशको राजधानी पनि दाङमै भएकाले यस्तो पुलको निर्माणले त्यहांको विकास निर्माणले फड्को मार्ने बताउनुभयो । उहांले जस्तो सुकै परिस्थिति आएपनि आफूहरु नरोकिने भन्दै संविधानको रक्षा गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट दाङ पुग्नुभएको थियो । उक्त पुल निर्माणपछि राप्ती गाउंपालिका ७ सिसनिया र गढवा गाउंपालिका २ महदेवा जोडिएको छ ।

८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो पक्की पुल रहेको दावी गरिएको छ । यसअघि नेपालकै सबैभन्दा लामो गेरुवाको पुल निर्माण गरेको एएनके लुम्बिनी वाइपी जेभीले नै यो पुलको निर्माण गरेको थियो ।

करिब एक अर्बको लागतमा निर्माण सम्पन्न गर्नुपर्ने समय अगावै पुल निर्माण गरिएपछि निर्माण कम्पनिले प्रशंसा बटुलेको थियो । पुल उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले पुल निर्माण कम्पनी र केही स्थानीयलाई सम्मानसमेत गर्नुभएको थियो ।

उक्त पुल गत असारमा निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको थियो । प्रधानमन्त्री ओली दाङ जाने भएपछि त्यहांको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, सीमा सुरक्षा बल भालुवाङबाट सशस्त्र प्रहरी र घोराहीस्थित रिपुमर्दन गणबाट नेपाली सेनाको टोली खटिएको थियो ।