प्रधानमन्त्रिले अगतिला कुरा मात्र बोल्न जानेका छन् : नेपाल

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली राम्रो संस्कार देखाउन नसक्ने चरित्रको मान्छे भएको टिप्पणी गरेका छन् । बुटवलमा बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गरेका हुन् । ‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्नु भएको छ,’ नेपालले भने, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’

नेपालले ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्ति भएको समेत आरोप लगाए । उनले भने, समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण आजसम्म दुःख पाइयो । तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनमा ओलीले जालझेल गरेर १५÷२० भोटले अध्यक्षमा जितेको समेत नेपालले बताए ।१५ वर्ष अघि लोकतान्त्रिक आन्दोलनमा ओली सहभागी नभएको बताउँदै नेपालले बैशाखमा चुनाव गर्ने ओलीको दाबी पनि विफल हुने भविष्यवाणी गरे । ‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन, उहाँमा पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ’, नेपालले आरोप लगाए ।