प्रचण्डले नुहाएको ‘तातोपानी कुण्ड’ पर्यटनका लागि आकर्षणको केन्द्र !

प्रकाशित मिति:

कात्तिक ३० बेनी। अन्नपुर्ण पदयात्राका पर्यटकमाझ चर्चित बेनीको तातोपानी कुण्ड नेकपका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले डुबुल्की लगाएको फोटो सार्वजनिक भएसँगै देशभर चर्चित भएको छ।

उक्त कुण्ड केही समयदेखि स्वास्थ्यका लागि भनेर बिभिन्न बिरामीहरु आउने क्रम बढेको छ। बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ ।

प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो ।

कात्तिक अन्तिम साता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको नसासम्बन्धी उपचारसमेत यसै तातोपानी कुण्डमा डुबेर गराइएपछि यो कुण्डको चर्चा अझ व्यापक भएको छ । दाहाल, उहाँकी पत्नी, गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकलालगायतको टोलीले तीन दिनसम्म तातोपानी कुण्डमै स्नान गरी फर्किएका छन् ।

उनीहरुले तीन दिनमा आठ घण्टा प्राकृतिक तातोपानीलाई जम्मा गरिएको कुण्डमा स्नान गरेका थिए। सिङ्गापुरलगायतका ठाउँमा पुगेरसमेत उपचार गर्दा निको नभएपछि मुलुककै पूर्वप्रधानमन्त्री दाहालपत्नी दाहाललाई तातोपानीमा डुबेर उपचार गराइनुले यस क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

“यसअघि पनि उच्च पदमा रहेका व्यक्ति कुण्डमा उपचारका लागि आउने गरेका थिए, अहिले दाहाल पत्नी सीताको उपचारसँगै दाहाल र गृहमन्त्री स्वयं नै म्याग्दीमै बसेर तीन दिन नियमितरुपमा कुण्डमा आएर स्नान गर्नुभयो । यसले यो क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान पुगेको हामीले विश्वास लिएका छौँ”, अध्यक्ष शाक्यले भने ।

जमीनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनूनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने मान्यता छ ।

तीन दिनसम्म तातोपानी कुण्डमा पत्नी सीताको उपचार गरी फर्कने क्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले स्वास्थ्य उपचार केन्द्रका रुपमा चिनिएको तातोपानी कुण्डलाई ‘मेडिकल टुरिजम’का रुपमा विकास गर्न सकिने बताए ।

“हामीले पहिले सुनेका मात्रै थियौँ, अहिले प्रत्यक्षरुपमा आएर आफैँले अनुभूति गर्‍यौँ, साच्चिकै तातोपानी कुण्डमा स्नान गरेपछि स्वास्थ्यमा रहेका समस्या हल हुने विश्वास हामीलाई पनि भयो”, नेता दाहालले भने।

बेनीदेखि कुण्डसम्म पुग्ने सडकलाई कालोपत्र गर्न शुरु भएको योजनालाई प्रभावकारी बनाउन, कुण्डको पूर्वाधार निर्माण, क्षमता विस्तार र थप व्यवस्थित बनाउन सक्दो पहल गर्ने दाहालले प्रतिबद्धता जनाएका छन् । पारिवारिक विश्रामका लागि म्याग्दी आए पनि यहाँको छलफल, अवलोकन र भ्रमण उपलब्धिमूलक रहेको गृहमन्त्री थापाको प्रतिक्रिया छ ।

“जमीनबाट निस्कने तातोपानीको महिमा अत्यन्तै बढी रहेको अनुभूति गर्‍यौँ, यसलाई विकास र प्रचारप्रसार गर्न सकेमा यहाँ स्वदेशका मात्रै होइन विदेशबाट समेत स्वास्थ्य उपचारका लागि बिरामी र पर्यटक भित्र्याउन सकिने सम्भावना छ, हाम्रो जोड यसैमा रहन्छ”, मन्त्री थापाले भने ।

उहाँले म्याग्दी हिमाल, पहाड, मनोरम भू–बनोटसँगै धार्मिक, कृषि र ग्रामीण पर्यटनको दृष्टिकोणमा समेत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर र कोरला नाका सञ्चालनमा आएमा बेनीसँगै सिङ्गो म्याग्दी ‘चोकको घडेरी’ हुने उहाँको भनाइ थियो ।