भारतमा नेपालीको सेवा गर्ने भण्डारी नेपालमा सम्मानित

प्रकाशित मिति:

काठमाडौँ । भारतमा नेपालीलाई हरेक समस्यामा सहयोग गर्ने चर्चित समाजसेवी सागर भण्डारी नेपालमा सम्मानित हुनुभएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं। १२ स्थायी घर भइ रोजगारीको सिलसिलमा भारतको मुम्बईमा बस्दै आउनु भएका भण्डारीले नेपालीहरुलाई सकेको सहयोग गर्दै आउनु भएकाले युरासिया रेयुकाई नेपालले उहाँलाई काठमाडौँमा सम्मान गरेको हो ।केन्द्रीय कार्यालय सानेपामा आयोजित सम्मान समारोहमा युरासिया रेयुकाईका संस्थापक अध्यक्षका निमित्त तथा वरिष्ठ समाजसेवी प्रवीणकुमार गुरुङले उहाँलाई सम्मान गर्नुभएको थियो ।विषेशगरी, लकडाउनको बेलामा सयौँ नेपालीलाई खान, बस्न, घर फर्किन र उपचार गराउनलगायतका लागि भण्डारीले सहयोग गर्नु भएको थाहा पाएर सम्मान गरिएको गुरुङले बताउनुभयो ।

युरासिया रेयुकाई मुम्बई शाखाका अध्यक्षसमेत रहनुभएका भण्डारीको सेवाले भारतमा रेयुकाईको इज्जत बढाएको र यसको मुल उद्धेश्यलाई पनि पूरा गर्न योगदान गरेको उहाँको भनाइ थियो । संस्थापक अध्यक्षका अर्का निमित्त लालकुमार श्रेष्ठले पनि भण्डारीको सेवाका बारेमा धेरैबाट प्रशंसा हुनेको गरेको आफूले सुनेको बताउनुभयो ।युरासिया रेयुकाईका निवर्तमन अध्यक्ष जनार्दन अधिकारीले मुम्बई शाखामा रहेर काम गर्दा भण्डारीको सत्कर्म प्रत्यक्ष देख्न पाएको बताउँदै यसले आफूलाई सधैँ गौरवको महसुस गराएको अनुभव सुनाउनुभएको थियो । मुम्बईमा हरेक समस्यामा प्रहरी प्रशासनलाई भन्दा बढी उहाँलाई विश्वास र आशा गर्ने गरेको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा लोक दोहोरी गायक यज्ञ सापकोटाले पनि रेयुकाईकै कार्यक्रममा मुम्बई गएको बेला रेयुकाई र भण्डारीलाई नेपालीले कति विश्वास र भरोशा गर्छन् भन्ने कुरा आफैंले देखेको अनुभव सुनाउनु भएको थियो ।युरासिया रेयुकाईका अध्यक्ष जगन्नाथ कार्कीको अध्यक्षता र पुस्कल गजुरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।