वेपत्ता छानविन आयोग पीडितकै पक्षमा : प्रवक्ता अधिकारी

प्रकाशित मिति:

बुटवल – वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग सदस्य एवम् प्रवक्ता डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको सक्दो काम गरिरहेको भन्दै पिडीतको पक्षमा काम गर्ने कुनै कसर बाँकी नराखेको बताएका छन् ।

न्याय निरुपणका लागि उनले पिडित, सरोकारवाला, सरकार, राजनितिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने(आयोग पिडितका लागि हो,पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ ।’

आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँचजना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै अधिकारीले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरे ।

समयमै ऎन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको स्वीकार्दै अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताए ।

आयोगमा नेपाल भरीबाट दर्ता भएको उजुरीका आधारमा दुई हजार पाँच सय २२ जनाव्यक्ती बेपत्ता पारीएको तथ्याङ्क रहेको उनले बताए । जसमध्ये सबै भन्दा बढि बर्दिया जिल्लाबाट २ सय ८८ ओटा उजुरी आयोगमा दर्ता भएकोमा दुई सय ५५ उजुरीहरु विस्तृत छानविनका क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।

लुम्बिनी प्रदेशमा बेपत्ताको संख्या ७ सय ३० रहेको र जसमा ६६६ पूरुष र ६४ महिला रहेको बताए । उजुरीको संख्या ७२१ रहेको उनले बताए ।
आयोगको म्याद १० दिन बाँकी रहँदै गर्दा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको आरम्भ गरेको छ ।