पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

प्रकाशित मिति:

तोलाकान्त बगाले , वालिङ, १६ माघ (रासस) :  लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिंदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ७ ले बिबाह, ब्रतबन्ध तथा अन्य शुभकार्यहरुमा बजाईने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रम अन्तर्गत गह«ौंकालिका पञ्चेबाजा समूह पैदीलाई दश थान बाजा हस्तान्तरण गरेको हो ।

आँफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भईरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका लागि एकलाख तीस हजारको लागतमा दश थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडा अध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।
“गह«ौंकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौं” वडा अध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै ब्यवसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौं ।

वडामा रहेका अन्य बाजा समूहहरुलाई आवश्यक सीप तथा तालीमहरु, आवश्यक पोशाकहरु हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो ।वडाको बजेटबाट सहनाई, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमति पञ्चेबाजा हस्तान्तरण गरिएको हो । पछिल्लो समय विदेशी कला संस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कला संस्कृतिमाथि असर गरिरहेको छ” वडा अध्यक्ष थापाले भन्नुभयो, “हाम्रो कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौं । पुराना कला संस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमति बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो ।पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवाहरुलाई सक्रिय बनाएर सीप सिकाईएको छ” अध्यक्ष परियारले भन्नुभयो, “यहाँका युवाहरुले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यहरुमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।”कला संस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताउनुभयो ।