मंसिर १ अर्थात भोलिबाट बुटवल बजार हर्न निषेधित क्षेत्र बन्दै

प्रकाशित मिति:

प्रदेश ५ लाइ ध्वनि प्रदुषण मुक्त बनाउन ट्राफिक प्रहरीले स्थानीय निकायसंग मिलेर अभियान शुरु गरेको छ ।सवारीको चापका कारण प्रदेशका मुख्य शहरहरुमा ध्वनि प्रदुषण बढेको गुनासो आएपछि प्रहरीले अभियानको थालनी गरेको हो । प्रहरीले पहिलो चरणमा प्रदेश ५ को केन्द्र रहेको बुटवलबाट सवारी साधनमा हर्न बजाउन नपाउने अभियानको थालनी गरेको प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए । अभियान अन्तर्गत प्रहरीले मंसिर १ गतेदेखि बुटवल बजारलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।बुटवलको तल्लो सिद्धबाबादेखि योगिकुटी ,बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रदेश ५ को केन्द्र तोकिएसंगै बुटवलमा सवारीको चाप बढेका कारण ध्वनि प्रदुषण बढेपछि यो अभियान थालिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमुनाको रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यसका लागि बुटवल उपमहानगरपालिका र प्रहरीले बुटवलमा सरोकारवालाहरुसंग छलफल गरेका थिए । छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शहरको सुन्दरीकरणका साथै ध्वनी, धुलो र वायु प्रदूषणलाई समेत क्रमश स् न्यूनीकरण गर्दै जाने प्रतिबद्धता जनाए ।
बुटवल पछि प्रदेशका अन्य उपमहानगरपालिकाहरुलाइ पनि हर्न निषेधित क्षेत्र तोकिने प्रदेश ५ का प्रहरी उपरीक्षक गणेश चन्दले बताए । बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । दाङको तुल्सीपुरलाइ यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरीएपनि ब्यवहारीक कार्यान्वयन भएको थिएन ।मंसिरको पहिलो हप्ताभरी प्रचार प्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारबाही गरिनेछ ।