न्यू होराइजनकी सुम्निमाको जीपीए ४

प्रकाशित मिति:

बुटवल, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् । देशभरबाट चार लाख ३२ हजार विद्यार्थी मध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा विज्ञान संकायकी छात्रा सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी ए प्लस ग्रेड सहित जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए । हालसम्म सुम्निमाको मात्रै जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दावी छ ।

उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् । विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताए ।